शक्ति समूहकी संस्थापक अभियन्ता तथा मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । राति सुतिरहेको अवस्थामा सोमबार बिहान घरमै उनी मृत भेटिएकी थिइन। उनी ४७ वर्षकी थिइन् ।
सन् १९९६ मा भारतको कोठीमा पुर्याइएकी उनको पाँच महिनापछि उद्धार गरिएको थियो । उद्धारपछि उनी मानव बेचबिखन रोकथाम तथा पीडितको उद्धार र पुनस्र्थापनाको काममा लाग्दै आएकी थिइन् । एसियाको ठुलो पुरस्कार मानिने रेमन म्यागासेसे पुरस्कारबाट समेत उनी सन् २०१३ मा सम्मानित भएकी थिइन् ।
कामको सम्मान गर्दै उनलाई विभिन्न अन्तर्राष्ट्रिय निकायले सम्मान गरेका थिए । उनको कामको प्रशंसा गर्दै अमेरिकी सरकारले समेत सन् २०१८ मा ‘ट्राफिकिङ इन पर्सन हिरो अवार्ड’बाट सम्मान समेत गरेको थियो ।