काठमाडौं । काठमाडौं महानगरपालिकाले रिङरोडको स्वयम्भू चोकदेखि बसुन्धरा चोकसम्मको सडकछेउको दुईतर्फकै खाली जग्गामा गाडी पार्किङ गर्न रोक लगाउन सडक विभागसँग सहमति माग गरेको छ । कलंकीदेखि चाबहिलको धोबी खोलासम्म चिनियाँ सहयोगमा सडक विस्तार गर्ने भनेर सरकारले रुख तथा बिजुलीको पोलहरू हटाएर खाली गराएको छ । सो क्षेत्रमा रहेका घर, मन्दिर र टहराहरू पनि हटाएर खाली गरेपछि अहिले उक्त खाली स्थान गाडी पार्किङको लागि उपयुक्त स्थानको रूपमा प्रयोग भएको छ ।
बालाजु, माछापोखरी क्षेत्रमा त सोही सडक किनारामा नुवाकोट, धादिङ, रसुवा र गोरखा जाने बस तथा माइक्रोबस पार्क नै छ भने निजी तथा भाडाका ट्रक, मिनिट्रकलगायतका अन्य गाडीहरू पनि सोही स्थानमा पार्किङ हुनेगरेको छ ।
स्वयम्भू चोकदेखि बसुन्धरा चोकसम्मको उक्त खाली जग्गामा गाडी पार्किङ गर्दा धुलो उडेर काठमाडौंलाई प्रदूषित बनाएको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको निर्देशनमा महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले यही पुस ३ गते बुधबार सडक विभाग बबरमहललाई पत्र लेख्दै सो क्षेत्रको खाली जग्गामा महानगरले छेकबार लगाउने भन्दै सहमति माग गरेका हुन् । यसरी छेकबार लगाउँदा गाडी पार्किङ मात्र रोकिने छैन सर्वसाधारण पनि हिँड्न पाउने छैनन् । अहिले रिङरोडको सो क्षेत्रमा सर्भिसलेन निर्माणाधीन भएको कारण पैदलयात्री पनि सडक वा अहिले बालेनले छेकबार लगाउने भनेको स्थानबाट हिँड्न बाध्य छन् ।
महानगरले छेकबार लगाउन माग गरेको सबै स्थान काठमाडौैं महानगरपालिकाभित्र पर्दैन । माछापोखरीको विष्णुमति पुलदेखि पूर्वको बसुन्धरासम्मको रिङरोडको उत्तरी भाग भने टोखा नगरपालिकाको सीमानामा पर्छ । तर, महानगरले टोखातर्फको भागमा पनि आफैँले छेकबार लगाएर गाडी पार्किङ नै गर्न नदिने योजना बनाएको हो । सो क्षेत्रमा अस्पताल, शिक्षण संस्थालगायत अन्य व्यावसायिक प्रतिष्ठानले पनि पार्किङ गरिरहेका छन् । गोंगबुको विनायक र सामाखुसी चोक नजिकको ग्रीनसिटी अस्पतालले त सोही सडक किनारलाई औपचारिकरूपमै पार्किङस्थल बनाएका छन् ।
महानगरले सो सडक किनारको दायाँबायाँ गाडी पार्किङ गरेर मात्र धुलो उडेको दाबी गरे पनि रिङरोड साँघुरो भएर गाडीहरू दायाँबायाँ गुडाउँदा धेरै धुलो उडेर प्रदूषण बढेको हो । अहिले रिङरोड विस्तार आयोजनाले रिङरोडको पहिलाको कालोपत्रेभन्दा दुवैतर्फ दायाँबायाँ नै थप एक/एक लेन कालोपत्रे गर्न सुरु गरेको छ । दुईतर्फ दुईलेन कालोपत्रे सडक थप भएपछि बसुन्धरा चौकी चोकदेखि गोंगबुसम्मको क्षेत्रमा धुलो उड्न रोकिएको छ । ‘रिङरोडको दायाँबायाँ खाली क्षेत्रमा महानगरलाई छेकबार लगाउन दिने वा नदिने छलफलकै विषय हो’, सडक विभागका एक सिनियर डिभिजनल इन्जिनियर (सीडीई)ले आर्थिक दैनिकसित भने, ‘रिङरोडको किनारको पार्किङले मात्र धुलो उडेर काठमाडौं प्रदूषित भएको होइन । अहिले बसुन्धरा चौकीदेखि गोंगबुसम्मको सडकको दुईतर्फ एक/एक लेन कालोपत्रे गेरेर सडकको चौडाइ बढाएपछि धुलो उड्न छाडेको छ ।’
निर्माण गर्न ठाउँ खाली गराइएको रिङरोडको दायाँबायाँ बार लगाउने कार्य व्यावहारिक नहुने विभागका एक सुपरिटेन्डेट इन्जिनियर (सुई)ले बताए । ‘सडक तथा किनार व्यवस्थित गरेर छेकबार लगाउनु स्वाभाविक देखिए पनि अहिले विस्तारका लागि खाली गरिएको जग्गामा छेकबार लगाएर हिँडडुललाई नै अवरोध गर्ने काममा स्थानीयबाट सहयोग पाउन सकिन्न’, विभागका सुपरिटेन्डेट इन्जिनियरले भने ।
सडक विभागले सहमति दिए पनि नदिए पनि महानगरले भने महानगरको वडा नम्बर १५, १६ र २६ को उक्त क्षेत्रको रिङरोडको दायाँबायाँ छेकबार लगाउने नै अडान लिएको छ । ‘काठमाडौं महानगरपालिका वडा नम्बर १५, १६ र २६ रिङरोडस्थित स्वयम्भू चोकदेखि बसुन्धरा चोकसम्म सडक वा सोल्जर (कालोपत्रे गरेको) छेउ तथा सीमानामा धुलो नियन्त्रण गर्ने उद्देश्यले माटो भएको स्थान खाली जग्गामा गाडी पार्किङ नियन्त्रण गर्न छेकबार गर्न सहमति प्रदान गरिदिनुहुन अनुरोध गर्दछु’, महानगरको सार्वजनिक निर्माण प्रमुख शाक्यले सडक विभागलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं महानगरले धुलो उड्ने अन्य क्षेत्रको बारेमा बेवास्ता गर्दै स्वयम्भूदेखि बसुन्धरा चोकसम्मको गाडी पार्किङले मात्र धुलो उडेर काठमाडौं नै प्रदूषित भयो भन्नुचाहिँ तथ्यगत कुरा नभएको सडक विभागको सम्भार महाशाखाका एक अधिकारीले बताए । ‘सडक किनाराको खाली जग्गामा पार्किङ गरेरभन्दा पनि सडक साँघुरो भएर बाहिरबाट गाडी चलाउँदा धुलो उडेको हो’, भौतिक मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले सर्भिस लेन पनि पिच गर्न थालिएको छ भने रिङरोडकै दायाँबायाँ पनि एक/एक लेन थप पिच गर्न थालेको कारण धुलो उड्न कम हुन्छ, बालेनले गरेको दाबी मिल्दैन ।’ सडकको धुलो उठाएर सडक विभाग र सडक डिभिजन काठमाडौंको गेटमा लगेर बालेनले फाल्न लगाएपछि सडक विभाग र महानगरका प्रमुख बालेनबीच तिक्ततापूर्ण सम्बन्ध छ ।