दोलखा । पछिल्लो वर्षहरूमा दोलखाका किसानहरूले फलफूल खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । जिल्लाका मेलुङ र बैतेश्वर गाउँपालिकाका किसानले यस वर्ष सुन्तला खेतीबाट मात्रै १५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
आम्दानीको गतिलो स्रोत सुन्तला खेती बन्दै गएपछि किसानहरू व्यावसायिकरूपमा नै सुन्तला खेतीमा लागेका हुन् । सबैभन्दा बढी सुन्तला खेतीको विस्तार मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा भएको छ । पवटीबाट मात्रै वार्षिक १२ करोड बढीको सुन्तला उत्पादन तथा बिक्री हुने गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । अध्यक्ष थोकरका अनुसार पवटी गाउँ जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र हो । यहाँका प्रायःजसो किसानले सुन्तला लगाएका छन् । पवटीको अमले, रुखेनी, ढकाल गाँउ, काब्रे, च्याने, आचार्य टोललगायतका गाउँमा जिल्लाभरमै सबैभन्दा स्वादिलो र धेरै सुन्तला उत्पादन हुने गरेको छ । गत वर्ष पवटीबाट करिब १२ करोडको सुन्तला निर्यात भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । हिजोआज यहाँका अधिकांश किसान सुन्तला टिप्न र ग्रेडिङ गर्दै सुन्तला निर्यात गर्न व्यस्त छन् ।
गत वर्षको तुलना यस वर्ष समयमै सुन्तला आन्तरिक बजारमा निर्यात भएकाले आम्दानी वृद्धि हुन सक्ने किसानहरू बताउँछन् । पवटीपछि दोस्रो बढी सुन्तला उत्पादन हुने गाउँ बैतेश्वर गाउँपालिका वडा नम्बर १ र २ पर्ने गैरीमुदी हो । गैरीमुदीबाट पनि साढे दुई करोड बराबरको सुन्तला बिक्री हुने गरेको बैतेश्वर–१ का वडाध्यक्ष भीमबहादुर तामाङले बताए । तामाङ आफैँ पनि सुन्तला खेती गर्ने किसान हुन् । उनले वार्षिक दुईदेखि तीन लाख बराबरको सुन्तला बिक्री गर्दै आएका छन् । उनका अनुसार केही वर्षअघिसम्म गैरीमुदीका स्थानीयले बाटो अभावमा सुन्तलाबाट आम्दानी लिनसकेका थिएनन् तर अहिले गाउँपालिकाले स्थानीय गाउँ–टोलका सडकको स्तरोन्नति गर्दै पक्की सडक निर्माण गरेसँगै सुन्तला, किबीलगायत फलफूल निर्यात गर्न सहज भएको छ ।
हिजोआज किसानको बोटमै व्यापारी आउन थालेका छन् । किसानले गतिलो सडक पहुँचको उपभोग गर्दै आफ्नो उत्पादनलाई बजारीकरण गर्न पाएका छन् र आम्दानी लिन थालेका छन् । गत वर्ष वडा नम्बर–१ गैरीमुदीबाट एक करोड ५० लाख, वडा नम्बर–२ गैरीमुदी पुतलीकाठबाट र वडा नम्बर–३ मिर्गेबाट एक करोड बराबरको सुन्तला बिक्री भएको थियो । सुन्तला खेतीलाई थप विस्तार गर्न गाउँपालिकाले गत असारमा ६० हजार सुन्तलाको बिरुवा किसानलाई वितरण समेत गरेको थियो । यता पालिकाको वडा नम्बर–७ मार्बुले पनि फलफूल तथा सुन्तला खेती विस्तार कार्यक्रम सुरु गरेको वडा अध्यक्ष मीनकुमार शिवाकोटीले बताए । मेलुङ र बैतेश्वरबाहेक जिल्लाको कालिञ्चोक गाउँपालिकाको सुन्द्रावती, सुनखानी र गौरीशंकर गाउँपालिकाको सुरी, खारेमा पनि राम्रो सुन्तला उत्पादन हुने गरेको छ ।