सिमकोट (हुम्ला) । हुम्लामा सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए ।
जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेका कारण आवतजावतमा समेत समस्या बनाएको उनले बताए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयले हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन आग्रह गरेका छन् । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ ।