काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन गरेको छ । मौद्रिक नीतिका उद्देश्य प्राप्ति तथा वित्तीय स्थायित्वका लागि वित्तीय बजारमा ब्याजदर स्थिरता एवं तरलताको वाञ्छित सीमा कायम राख्न खुला बजार कारोबार सञ्चालन गरी आवश्यक उपकरणहरू प्रयोग गर्न आवश्यक भएपछि कार्यविधि संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ । यो कार्यविधि २०७८ पुस ६ गतेदेखि कार्यान्वयनमा आएको थियो ।
संशोधित कार्यविधि गभर्नर महाप्रसाद अधिकारीले पुस ८ गते स्वीकृत गरेका छन् । मौद्रिक नीतिका उद्देश्यहरू हासिल गर्न अल्पकालीन एवं संरचनात्मक प्रकृतिको तरलता व्यवस्थापनका लागि बैंकको तर्फबाट नियमित खुला बजार कारोबार र संरचनात्मक खुला बजार कारोबारसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन सकिनेछ ।
राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (एसडीएफ) सम्बन्धी सर्त तथा मापदण्डमा संशोधन गरेको छ । स्थायी निक्षेप सुविधा लिनका लागि अब बैंकहरूले स्वदेशी मुद्राको बचत र मुद्दती निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर स्थायी निक्षेप सुविधाको ब्याजदरभन्दा कम नभएको हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि बचत खाताको ब्याजदरभन्दा कम हुनुपर्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले स्थायी निक्षेप सुविधामा तीन प्रतिशतसम्म ब्याज दिनेगरेको छ । त्यसैले अब बैंकहरूले बचत र मुद्दती निक्षेपमा दिने न्यूनतम ब्याजदर तीन प्रतिशत वा सोभन्दा कम भएमा निक्षेप सुविधा नपाउने देखिन्छ ।
यस्तै स्थायी निक्षेप सुविधा उपयोग गर्नका लागि निवेदन पेस गरेका काउन्टरपार्टीको नाममा सोही दिन नै राष्ट्र बैंकमा निक्षेप रकम जम्मा गर्ने र त्यसबापत काउन्टरपार्टीबाट माग भएमा सोही दिन नै जम्मा गरिएको निक्षपबापत प्रमाणपत्र प्रदान गर्ने भएको छ । त्यसपछि भुक्तानी अवधि समाप्त भएपछि तोकिएको ब्याजदरसहित सो निक्षेप रकम सम्बन्धित काउन्टरपार्टीको खातामा जम्मा गर्ने व्यवस्था छ ।
यसैगरी संरचनात्मक खुला बजार कारोबारमा प्रयोग हुने निश्चित भुक्तानी अवधिका ट्रेजरी विल्सको सोझै खरिद/बिक्रीे, दीर्घकालीन रिपो/रिभर्स रिपो र दीर्घकालीन निक्षेप सङ्कलन उपकरण बढीमा छ महिना अवधिको तथा नेपाल राष्ट्र बैंक ऋणपत्र बढीमा एक वर्ष अवधिको हुनेछ । तरलता अनुगमन तथा प्रक्षेपण संरचनासम्बन्धी प्रतिवेदन, बैंकिङ प्रणालीमा विद्यमान तरलताको स्थिति, निक्षेप एवं कर्जाको परिवर्तन, अन्तरबैंक ब्याजदर, चालू खाता तथा भुक्तानी सन्तुलनको स्थिति, सरकारी राजस्व खर्चको स्थितिलगायतका अन्य आर्थिक तथा वित्तीय सूचकका आधारमा खुला बजार कारोबारका किसिम, प्रयोग गरिने उपकरण, समय तालिका तथा अन्य सर्त निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको हाराहारीमा राख्ने गरी समिति/विभागले आवश्यकताअनुसार खुला बजार कारोबार गर्न सक्नेछ । बैंकिङ प्रणालीमा अन्तरबैंक कारोबारको ब्याजदर अवस्था तथा बैंकिङ प्रणालीमा विद्यमान तरलताको स्थिति, तरलता अनुगमन तथा प्रक्षेपण संरचनासम्बन्धी प्रतिवेदनको आधारमा समेत जुनसुकै दिनमा समितिको बैठक बसी खुला बजार कारोबार सञ्चालन गर्न सकिनेछ ।
वित्तीय बजारमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा सोको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न आवश्यकताअनुसार नियमित खुला बजार कारोबारअन्तर्गत बढीमा १४ दिन अवधिसम्मका लागि तरलता प्रशोचन गर्न निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्नेछ ।
वित्तीय प्रणालीमा साधारण प्रकृतिको अधिक तरलता प्रशोचन गर्न नियमित खुला बजार कारोबारअन्तर्गत बढीमा १४ दिनसम्मका लागि रिभर्स रिपो बोलकबोल कारोबारमार्फत तरलता प्रशोचन गर्नसक्ने व्यवस्था छ । यस्तो कारोबार गर्दा नेपाल राष्ट्र बैंकले आफूसँग रहेका योग्य सुरक्षणपत्र निश्चित अवधिका लागि काउन्टरपार्टीहरूलाई बिक्री गरी उनीहरूको तरलता प्रशोचन गर्नेछ । रिभर्स रिपो कारोबार गर्दा विनियमावलीबमोजिम बैंकले भविष्यमा निश्चित मितिमा निश्चित रकमबराबरको सुरक्षणपत्र खरिद/बिक्री गर्ने प्रतिबद्धता सहित काउन्टरपार्टीसँग ‘मास्टर रिपर्चेज एग्रीमेन्ट’ गर्नेछ ।
वित्तीय प्रणालीमा दीर्घकालीन प्रकृतिको न्यून तरलताको स्थिति रहेको समितिलाई लागेमा संरचनात्मक खुला बजार कारोबारअन्तर्गत आवश्यकताअनुसारको अवधिका लागि सोझै खरिद बोलकबोलमार्फत तरलता प्रवाह गर्न सक्नेछ । यस्तो कारोबार गर्दा बैंकले तोकिएको भुक्तानी अवधि बाँकी रहेका ट्रेजरी बिल्स काउन्टरपार्टीबाट खरिद गर्नेछ । सोझै खरिद उपकरण निष्काशन गर्दा ट्रेजरी बिल्सको मूल्यमा बोलकबोल गराई बहुमूल्य विधि प्रयोग गरिनेछ । सोझै खरिद गरिने कुल रकम, बोलकबोल मिति, निष्काशन मिति, ट्रेजरी बिल्सको भुक्तानी अवधिलगायत विषय तथा सर्तहरू समितिले निर्धारण गरेबमोजिम हुनेछ र विभागले सोहीबमोजिम बैंकको वेबसाइट वा अनलाइन माध्यमबाट सार्वजनिक सूचनामार्फत निष्काशनको आह्वान गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा दीर्घकालीन प्रकृतिको अधिक तरलता भएको विषयमा समिति सन्तुष्ट भएमा आवश्यकताअनुसारको अवधिका लागि सोझै बिक्री बोलकबोल कारोबारमार्फत तरलता प्रशोचन गर्न सक्नेछ ।
वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा सोको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबारअन्तर्गत बढीमा छ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्नेछ । वित्तीय प्रणालीमा दीर्घकालीन प्रकृतिको अधिक तरलता विद्यमान भएको समितिलाई लागेमा संरचनात्मक खुला बजार कारोबारअन्तर्गत बढीमा छ महिना अवधिको दीर्घकालीन रिभर्स रिपो बोलकबोल कारोबारमार्फत तरलता प्रशोचन गर्न सक्नेछ ।