काठमाडौं । निक्षेप बढ्दै गएपछि बैंक तथा संस्थाहरूबीच हुने कारोबार (अन्तरबैंक कारोबार) घटेको छ । प्रणालीमा निक्षेप थुप्रिँदै जाने र कर्जाकोे माग बढ्न नसकेपछि बैंकहरूले सापटी लिएर कारोबार गर्न छाडेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को चार महिनामा वाणिज्य बैंकहरूले चार खर्ब ७० अर्ब ३० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको ६१ अर्ब ८० करोड रुपैयाँ गरी कुल पाँच खर्ब ३२ अर्ब १० करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको छ । यो समयमा बैंकिङ प्रणालीमा सङ्कलन भएको कुल निक्षेप ६६ खर्ब ४४ अर्ब २३ करोड १० लाख रुपैयाँ र कर्जा प्रवाह ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँ छ ।
यस आर्थिक वर्षको चार महिनामा भएको अन्तरबैंक कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ खर्ब रुपैयाँ कम हो । गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरूले १७ खर्ब ४३ अर्ब ९४ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको दुई खर्ब १४ अर्ब ९३ करोड गरी कुल १९ खर्ब ५८ अर्ब ८७ करोड रुपैयाँ कारोबार भएको थियो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप सङ्कलन ५९ खर्ब १२ अर्ब ७९ करोड ४० लाख रुपैयाँ र कर्जा प्रवाह ४९ खर्ब ७६ अर्ब ४७ करोड ७० लाख रुपैयाँ थियो ।
अन्तरबैंक कारोबार रकम घटेसँगै यस्तो कारोबारमा दिइने ब्याजदर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार २०८० कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर चार दशमलव ३९ प्रतिशत रहेकोमा २०८१ कात्तिकमा दुई दशमलव ७७ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० कात्तिकमा तीन दशमलव ४७ प्रतिशत रहेकोमा २०८१ कात्तिकमा दुई दशमलव ९१ प्रतिशत छ ।
२०८१ कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर सात दशमलव शून्य दुई प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ९६ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव शून्य तीन प्रतिशत छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर नौ दशमलव ७४ प्रतिशत, विकास बैंकहरूको १२ प्रतिशत र वित्त कम्पनीहरूको १३ दशमलव ३३ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर पाँच दशमलव शून्य एक प्रतिशत, विकास बैंकहरूको पाँच दशमलव ८३ प्रतिशत र फाइनान्स कम्पनीहरूको सात दशमलव १८ प्रतिशत छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ७६ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव ११ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव शून्य दुई प्रतिशत कायम भएको थियो ।
त्यसैगरी, २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर नौ दशमलव शून्य सात प्रतिशत, विकास बैंकहरूको १० दशमलव ४३ प्रतिशत र फाइनान्स कम्पनीहरूको ११ दशमलव ७० प्रतिशत छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ९६ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ७० प्रतिशत र फाइनान्स कम्पनीहरूको १४ दशमलव ४८ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।