दोलखा । कुनै बेला गाउँघरमा चिटिक परेका ढुङ्गामाटोको गारो, आरोले चिरेका काठ र चक्लेटी ढुङ्गा तथा झिँगटीले छाएका घरहरू देखिन्थे । तर अहिले स्थानीय कला र परम्परा झल्काउने त्यस्ता घर लोप भएर देखिनै छाडेका छन् ।
प्राकृतिक विपद् तथा नयाँ प्रविधिसँगै भित्रिएको कंक्रिट विकास र टिनको छानाले स्थानीय पहिचानलाई विस्थापित गरेको हो । दोलखामा २०७२ को भूकम्प अघिसम्म धेरैजसो घर ढुङ्गामाटो र झिँगटीको छानो प्रयोग गरेर बनाएका भेटिन्थे । तर भूकम्पले त्यस्ता सबै घर तहसनहस पारिदिएपछि गाउँमा सहर बजारका जस्तै इँट्टा, गिट्टी बालुवा रड तथा सिमेन्टी मिश्रित कंक्रिट घरको निर्माण गर्ने क्रम बढेको हो । अहिले झिँगटीका छानो भएका घरहरू पूर्णरूपमा विस्थापित भएका छन् ।
दोलखाका स्थानीय देवीप्रसाद पोखरेलका अनुसार तामाकोसी गाउँपालिका–३ जफेका पोखरेल परिवारमा दुई र काफ्ले परिवारमा पाँच वटा यस्ता घर थिए । ती घरहरू भूकम्पपछि नामोनिसानामा छैनन् । सोही पालिकाको वडा नम्बर २ मा कार्की परिवारमा पनि तीन र वडा नम्बर ४ कार्की र पोखरेल परिवारमा तीन वटा झिँगटीको छाना भएका घर थिए, अहिले सबै कंक्रिटका पक्की घर बनेका छन् । मेलुङ गाउँपालिकामा पनि केही यस्ता घर थिए । स्थानीय विश्वास भण्डारीका अनुसार राणाशासनको अन्त्य र प्रजातन्त्रको उदयपछि २००७ सालपछि जनताको छोराछोरीले चार तले घर बनाउन पाउने अवस्था बनेको रहेछ । ‘त्यसपछि हाम्रो हजुरबुबा स्वर्गीय रामप्रसाद भण्डारीले २००७ बाट सुरू गरी २०११ सालमा ढुङ्गामाटो र झिँगटीको घर निर्माण गरिएको थियो’, उनले सुनाए ।
उनका अनुसार हाल मेलुङमा आफ्नो पुर्खेली घर भूकम्पले जीर्ण बनेको घरबाहेक अन्यत्र यस्ता कुनै घर छैनन् । ‘एक समय थियो काठ आरोले चिर्ने । आरोले काठ चिर्ने काम हाम्रो गाउँमा हाम्रो घरबाटै सुरु भएको रहेछ’, उनले भने, ‘भारतबाट आरावाला र आरो ल्याइएको रहेछ । तर अहिलेको नयाँ पुस्तालाई त्यो बेलाको कुरा कथाजस्तै भएको छ । त्यो बेला हजुरबुबाले झिँगटी बनाउने मान्छे पनि भक्तपुरबाट ल्याई गाउँमै माटो पोलेर झिँगटी बनाई छानो छाएको सुनाउनुहुन्थ्यो ।’ भण्डारी परिवारको इतिहास जोडिएको उक्त घर २०७२ को भूकम्पले क्षति गर्यो । २०४५ सालको भूकम्पमा केही नभएको घर २०७२ को भूकम्पले भत्काएको उनले बताए ।
उक्त घर नलडे पनि बस्न नहुने गरी बिग्रिएको छ । ‘बस्न नहुने भएकाले यो घरलाई पहिलो चरणमा पुनर्निर्माण गर्न लागेका छौँ’, उनले भने । झिँगटीको छाना लगाएको घर अब इतिहास मात्र बनेको उनले सुनाए । गाउँमा हिजोआज प्रतिस्पर्धामा नयाँ प्रविधिका घर बनिरहेका छन् । भूकम्प प्रतिरोधात्मक घरको नाममा स्थानीय कला, वास्तुकला तथा रातोमाटो र सेतो कमेरोले घर सजाउने, लिप्ने परम्परा विस्थापित नै भएको छ । दोलखामा २०७२ सालको भूकम्पले करिब ७० हजार पुराना घर विस्थापित गरेको थियो । त्यसपछि सरकारको निजीआवास निर्माण अनुदानअन्तर्गत ६२ हजार पाँच सयको हाराहारीमा भूकम्प प्रतिरोधात्मक नयाँ प्रविधिका कंक्रिट घर बनेका छन् ।