काठमाडौँ । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग बुधबार भएको छलफलमा खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् ।
“नागरिकल महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ”, उनले भने, “काठमाडौँवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोहीअनुसार वातावरण तयार गरौँ ।”
मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिए ।
मन्त्री यादवले जनतालाई स्वच्छ, सफा पानी वितरण गर्नु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउँदै यसका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गरे । साथै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालय र अन्य सरोकार भएका निकायसँग पनि छलफल गरी काम गरिरहेको उनले बताए ।
बाढीबाट क्षतिग्रस्त ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिदै मन्त्री यादवले उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयसहित मातहतका निकायलाई बाढीका कारण क्षति पुगेको उक्त केन्द्र यथाशीघ्र मर्मत गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।
मन्त्री यादवले खानेपानीको समस्या उत्पन्न भएका ठाउँमा तत्काल जनशक्ति खटाएर समस्या समाधान गर्न मातहतका सबै निकायलाई आग्रह गरका छन् । उनले भने, “पानीको समस्याका विषयमा गुनासो आएका ठाउँमा तत्काल थप जनशक्ति परिचालन गरी समस्या समाधान गर्नु होला ।”
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रशासन प्रमुख राजेन्द्रबहादुर बमले ललितपुरको धोबीघाटस्थित प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारी भएकामा गत असोज ११ गते आएको बाढीले त्यहाँ रहेका भौतिक संरचना तथा उपकरणमा क्षति पुर्याएको जानकारी दिए ।