काठमाडौं । नेपाल राष्ट्र बैंकले क्षेत्रीयस्तरको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको बैंकले तोकिएबमोजिमको न्यूनतम पुँजीकोष कायम नगरेको, निष्क्रिय कर्जा ४० दशमलव ८५ प्रतिशत पुगेको लगायतका समस्या देखिएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।
यसअघि मंसिर ११ गते राष्ट्र बैंकले कर्णालीलाई शीघ्र सुधारात्मक कारबाही गरेको थियो । तर पनि तत्काल सुधार हुने अवस्था नदेखिएपछि राष्ट्र बैंकले कर्णालीको व्यवस्थापनमा हस्तक्षेप गर्दै बुधबार तीन सदस्यीय व्यवस्थापन समिति गठन गरी पठाएको छ ।
राष्ट्र बैंकले बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो । उक्त समितिमा वित्तीय संस्था सुपरीवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् । समितिले बिहीबारदेखि नै कार्य प्रारम्भ गर्नै राष्ट्र बैंकले जानकारी दिएको छ ।
उक्त समितिलाई विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने समेतको अधिकार दिइएको छ । समितिलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ‘ड्यु डेलिजेन्स अडिट’ सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने लगायत अख्तियारी दिएको छ ।
यसअघि मंसिर ११ गते राष्ट्र बैंकले सार्वजनिक सुचना जारी गर्दै कर्णालीलाई थप निक्षबेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाउने गरी शीघ्र सुधारात्मक कारबाही गरेको थियो ।
कर्णाली डेभलपमेन्ट बैंकको २०८१ साउन छ गतेदेखि विसं २०८१ साउन ११ गतेसम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदनअनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम हुनेलगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको थियो । ‘निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियमबमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने सर्तमा मंगलबार अर्थात् २०८१ मंसिर ११ गतेकै मितिदेखि लागू हुनेगरी थप निक्षेप सङ्कलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको हो’, राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
नेपालगञ्जमा केन्द्रीय कार्यालय रही क्षेत्रीयस्तरमा बैंकिङ कारोबार सञ्चालन गर्दै आएको कर्णालीको हाल तुलसीपुर, लमही, घोराही, गडवा, भुरीगाउँ, भालुवाङ, सानोश्री, बाँसगढी, ठाकुद्धारा, राजापुर, खजुरा, कोहलपुर, बैजापुर, सिसेनिहा, बिजयपुर, नारायणपुर, शमसेरगञ्ज सहितका १९ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । बैंकमा हाल डा. ओमप्रकाश मिश्रको अध्यक्षतामा युवराज अधिकारी, उषा भण्डारी, निशार अमर दर्जी र टंकबहादुर बस्नेतसहितको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ भने बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा निरज विक्रम शाह रहेका छन् ।
अधिकृत पुँजी ६० करोड तजा जारी पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ । राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको यो बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ९८ लाख २९ हजार सात रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा बैंकले चार करोड आठ लाख ६१ हजार ४३ रुपैयाँ नाफा कमाएको थियो । बैंकले चालू आवको पहिलो त्रैमासमा पाँच अर्ब २१ करोड १८ लाख दुई हजार पाँच सय ६५ रुपैयाँ निक्षेप सङ्कलन गरी तीन अर्ब ८१ करोड ५५ लाख ९७ हजार तीन सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ लाख ९१ हजार तीन सय ७४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा सात दशमलव २७ प्रतिशत निष्क्रिय कर्जा छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले चार अर्ब ५२ करोड २६ लाख ३७ हजार चार सय २७ रुपैयाँ निक्षेप सङ्कलन गरी तीन अर्ब ४१ करोड ८३ लाख १७ हजार दुई सय चार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ९३ लाख ९० हजार तीन सय ५२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको चार दशमलव ७४ प्रतिशत निष्क्रिय कर्जा थियो ।