दोलखा । गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरूपमा सञ्चालनमा आएको छ । असोजदेखि उत्पादन बन्द भएको चार सय ५६ मेगावाटको आयोजनाले मंगलबारबाट बिजुली उत्पादन गर्न सुरु गरेको हो ।
आयोजनाको बायाँतर्फको क्षतिग्रस्त बालुवा थिग्य्राउने पोखरीको पुनःनिर्माण गरेर जलाशयबाट सिधै पानी पठाई उत्पादन सुरु गरेको आयोजनाले जनाएको छ । मंगलबार साँझदेखि तामाकोशीबाट एक सय २० मेगावाट विद्युत् उत्पादन भएको विद्युत् केन्द्रका कार्यकारी प्रमुख मोहनप्रसाद गौतमले बताए । क्षतिग्रस्त संरचनाहरूको मर्मत गरेर करिब तीन महिनापछि आयोजनालाई सञ्चालनमा ल्याइएको गौतमले जानकारी दिए । माघ पहिलो सातासम्म दायाँतर्फको बालुवा थिग्य्राउने पोखरी समेत मर्मत सकिने उनले बताए । विद्युत् केन्द्र पूर्णरूपमा सञ्चालनमा आउन भने अझै एकदेखि डेढ महिना लाग्ने आयोजनाले जनाएको छ ।
विद्युत् केन्द्रको हेडवक्र्समाथिबाट आएको पहिराले क्षति गरेको विद्युत् सञ्चालन केन्द्र निर्माण गर्न भने अझै एक वर्ष लाग्ने अनुमान गरिएको छ । पहिरोले आयोजना केन्द्र लामाबगरस्थित हेडवक्र्स क्षेत्रमा लेदोसहितको पहिरो खस्दा दुई तले कन्ट्रोल विल्डिङ पुरिएको थियो । पहिरोले बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर), बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष र बाँधबाट डिस्यान्डरसम्म पानी प्रवाह गर्ने भूमिगत नहर (कल्भर्ट)लगायतका संरचनामा ठूलो क्षति पुगेको थियो । पहिरोमा परेर चार जनाले ज्यान गुमाएका थिए भने एक अर्ब ८० करोड रूपैयाँ बराबरको क्षति भएको थियो ।