काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले कोभिड १९ पछि शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । रूपन्देहीको सियारी गाउँपालिकामा बुधबार सियारी पर्यटन कोरिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिँचाइ योजनाको उद्घाटन कार्यक्रममा उनले कोभिडपछि देशको अर्थतन्त्र धराशायी भएको र त्यसलाई लयमा ल्याउन सरकारले काम गरिरहेको बताए । हाल सुधारको संकेत देखिन थालेको उनको दाबी थियो । ‘अर्थतन्त्र सुधार्न उच्चस्तरीय संयन्त्र बनाएका छौँ । अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ’, उनले भने । यस्तै, कार्यक्रममा उनले पर्यटन करिडोर र लिफ्ट सिँचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्था परिवर्तन गराउने बताए ।
‘पर्यटन कोरिडोरले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने छ भने लिफ्ट सिँचाइले यहाँको कृषि उत्पादन बढाउने र यहाँका कृषकको समृद्धिका लागि योगदान पुग्नेछ’, उनले भने । लिफ्ट सिँचाइ आयोजनाले १०५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा हुनेछ । सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कृषकको चाहनाअनुसार पालिकाले काम गरिरहेको बताए । दुईवटा योजना सफल भएपछि यहाँको आर्थिक अवस्थामा आमूल परिवर्तन हुने उनको भनाइ थियो ।
‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको बाँकी काम छिट्टै सम्पन्न हुन्छ’
बुटवल । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको बाँकी काम छिटै सम्पन्न गर्ने बताए । उद्योग वाणिज्य संघ, रूपन्देहीले आयोजना गरेको औद्योगिक व्यापार मेलाको अवलोकन गर्दै उपप्रधानमन्त्री सिंहले केन्द्रलाई विशेष संरचनाका रूपमा सञ्चालनका लागि सरकारले मन्त्रिपरिषद्बाट गठनादेश पारित गरिसकेको जानकारी दिए । ‘अब यसलाई चाँडै सम्पन्न गर्ने र सम्पन्न भइसकेका संरचनाको व्यवस्थितरूपमा सञ्चालनका लागि सरकार अघि बढिसकेको छ’, उनले भने । यस्तै, उनले व्यापार मेलाले आर्थिक गतिविधि बढाउन मद्दत गर्ने बताए । उपप्रधानमन्त्री सिंहले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अवलोकन समेत गरेका थिए ।
सहरी विकास मन्त्रालयअन्तर्गतको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी १६ दिनसम्म चल्ने मेलाको ८ औँ दिनमा सिंहले अवलोकन गरेका हुन् । सिंहसँगै मेलामा बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डे, रूपन्देही कांग्रेसका सभापति, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलगायत सहभागी थिए ।