वीरगञ्ज, असार ३१
प्रदेश २ सरकार मातहत भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगञ्जले अबको एक महिनाभित्र ४२ हजार चालक अनुमतिपत्र बाँड्ने लक्ष्य राखेको छ । पछिल्लो लामो लकडाउनले गर्दा लाइसेन्स छपाइमा तीव्रता तथा नयाँ सेवाग्राही नथपिएपछि लाइसेन्स वितरणको समस्या हल हुन लागेको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगञ्ज प्रमुख सुशील साह बताउँछन् ।
२५ हजार लाइसेन्स छापेर आइसकेको र बिस्तारै वितरण पनि सुरू भएको उनले बताए । ‘विभागमा छापेर राखिइसकेका २५ हजार स्मार्ट कार्ड लाइसेन्स एक साताभित्र यातायात व्यवस्था विभागबाट वीरगञ्ज आइपुग्ने छ’, उनले भने, ‘अब वीरगञ्ज आसापासका सेवाग्राहीको पखाइको दिन अन्त्य भएको छ ।’ लकडाउन खुकुलो भएसँगै असार १ गतेदेखि लाइसेन्स वितरण भइरहेको र नवीकरणबाहेक अन्य सेवा भने सुरू नभएको उनले बताए । २०७७ असार २५ गतेसम्म १ लाख २३ हजार नौ सय ४० जनाले परीक्षा पास गरी लाइसेन्सको लागि विभागमा अनुरोध गरेकोमा असार २५ गतेसम्म एक लाख १० हजार एक सय २९ जनाको लाइसेन्स छाप्ने काम पूरा भइसकेको कार्यालय प्रमुख साहले जानकारी दिए ।
उनका अनुसार अब वीरगञ्ज कार्यालयबाट जम्मा ११ हजार दुई सय ३२ जनाको लाइसेन्स छपाइ हुन बाँकी छ । लकडाउनअघि लाइसेन्स पाउन योग्य व्यक्तिको सवा वर्षपछि मात्र लाइसेन्स छापेर वीरगञ्ज आइपुग्थ्यो । तर लकडाउनले विभागमा लाइसेन्स छपाइको काम नरोकिएकोले लाइसेन्सका लागि महिनौं कुर्नुपर्ने बाध्यता अन्त्य हुने देखिएको छ । देशभरिको लाइसेन्स छाप्ने थलो एउटा मात्र, त्यसमा पनि दक्ष जनशक्ति र चारवटा मेसिनमध्ये दुईवटा बेलाबेलामा खराब हुने भएकोले लाइसेन्स प्राप्त गर्नेको अनुपातमा लाइसेन्स छपाइ सुस्त हुँदा सेवाग्राही मर्कामा पर्ने गरेका हुन् ।