काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पूर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरूप बैंकको लालबन्दी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकका अनुसार लालबन्दी शाखाले रोटरी क्लब अफ ठमेल काठमाडौं र रोट¥याक्ट क्लब अफ थेम्स इन्टरनेसनल कलेजको संयुक्त पहलमा गरिएको परियोजना ‘परियोजना न्यानो’अन्तर्गत मिति २०८१ साल पौष १३ गते ईश्वरपुर नगरपालिका वडा नं. २, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्याङ्केट र कपडाहरू वितरण गर्न आर्थिक सहयोग गरेको छ । त्यसैगरी बैंकको राजापुर शाखाद्वारा मिति २०८१ मंसिर २२ गतेदेखि मिति २०८१ मंसिर २९ गतेसम्म धार्मिक सप्ताह श्रीमद्भागवत ज्ञानमहायज्ञ सञ्चालन भएकोमा अमर शहिद बहुमुखी क्याम्पससँगको सहकार्यमा उक्त अवधिभर जथाभावी भएको फोहोर संकलन तथा क्याम्पस रोड र क्याम्पस परिसरभित्र सरसफाई गर्न तथा फोहोरमैलाहरू व्यवस्थापन गर्न डस्टबिनहरू वितरण गरेको छ ।
श्री राजदेवी साङ्गीतिक समूह, कलैया बाराले कलैया उमनपा, वडा नं. १ स्थित राजदेवी माता मन्दिरको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा आवश्यक पर्ने फलफूल, जुस, साउन्ड सिस्टम, मिठाइलगायतका सामग्रीहरू खरिद गर्न यस बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।