काठमाडौं । केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रममार्फत युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो अनावरण गरेका थिए भने मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्तरूपमा ‘उचाइको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे । नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ को मार्च महिनामा सुरु हुनेछ । लिगमा देशभरका विभिन्न क्षेत्रबाट उत्कृष्ट खेलाडीहरूका साथै विभिन्न अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता रहनेछ । यो प्रतियोगिताले नेपालभरका उत्कृष्ट भलिबल खेलाडीहरूको सहभागिता सुनिश्चित गर्ने जनाइएको छ ।
एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा छ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोविनका आधारमा खेल हुने जानकारी दिए । उनका अनुसार नौ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछ । लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । यस्तै, हरेक टोलीमा नौ नेपाली र तीन विदेशी खेलाडी गरी कुल १२ खेलाडी रहने बताइएको छ । पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा सात वर्षका लागि सम्झौता भइसकेको छ ।
सम्झौताअनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रूपैयाँ प्रदान गर्नेछ । कार्यक्रममा श्रीलंकामा भएको काभा पुरूष भलिबल प्रतियोगितामा रजत पदक जित्न सफल भएको यु–२० नेपाली राष्ट्रिय टोलीको सदस्यलाई नगदसहित सम्मान गरिएको थियो ।