काठमाडौं । समस्याग्रस्त कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिएपछि सेयर कारोबार रोक्का गरेको हो ।
कर्णाली विकास बैंकको हाल ५० करोड २८ लाख ३० हजार रुपैयाँबराबरको ५० लाख २८ हजार तीन सय कित्ता सेयर नेप्सेमा सूचीकृत छ । मंगलबार बैंकको सेयरमूल्य प्रतिकित्ता आठ सय १० रुपैयाँ थियो । बैंकको बजार पुुँजीकरण चार अर्ब सात करोड २९ लाख २३ हजार रुपैयाँ छ ।
तोकिएबमोजिमको न्यूनतम पुँजीकोष कायम नगरेको, निष्क्रिय कर्जा ४० दशमलव ८५ प्रतिशत पुगेको लगायतका समस्या देखिएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो । यसअघि मंसिर ११ गते राष्ट्र बैंकले कर्णालीलाई शीघ्र सुधारात्मक कारबाही गरेको थियो । तर पनि तत्काल सुधार हुने अवस्था नदेखिएपछि राष्ट्र बैंकले कर्णालीको व्यवस्थापनमा हस्तक्षेप गर्दै बुधबार तीन सदस्यीय व्यवस्थापन समिति गठन गरी पठाएको छ ।
राष्ट्र बैंकले बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो । उक्त समितिमा वित्तीय संस्था सुपरीवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् । समितिले बिहीबारदेखि नै कार्य प्रारम्भ गर्ने राष्ट्र बैंकले जनाएको छ ।