काठमाडौं । करिब एक महिनादेखि घटिरहेको सेयरबजारले गतसाता रङ परिवर्तन ग¥यो । कारोबार भएको चार दिनमा कारोबार मापक नेप्से परिसूचक एक दिन मात्रै घट्यो भने तीन दिन बढ्यो । समग्रमा नेप्से ३३ दशमलव ८९ अंकले बढेर दुई हजार छ सय ३० विन्दुमा पुगेको छ ।
निरन्तर घटेको बजारमा सुधारको संकेत देखिएको विश्लेषकहरुले बताएका छन् । लगानीकर्ताले बढ्दो बजारमा करेक्सन चक्र पुरा भएको अनुमान लगाएकाक छन् ।
अधिकांश कम्पनीहरुले लाभांश घोषणा गरि साधारणसभा आह्वान गरेका छन् । लाभांशका लागि बुक क्लोजको मिति पनि तय गरिसकेका छन् । केही दिनपछि साधारणसभा सम्पन्न हुने रसेयरधनीको खातामा धमाधम लाभांश आउन सुरु हुनेछ ।
गतसाता अन्तिम दिन लगानीकर्ता वाणिज्य बैंक समूहमा बढी आकर्षित भएको देखियो । सेयरबजारमा वाणिज्य बैंकहरुको हिस्सा धेरै भएकाले पनि यो समूह बढ्दा समग्र बजारमा सकारात्मक असर पर्छ ।
अर्कोतर्फ कर्णाली डेभलपमेन्ट बैंकको घटनाले वित्तीय अवस्था मजबुत भएका कम्पनीमा मात्रै लगानी गर्ने सम्भावना देखिएकोे छ । यसले थप केही समय बजारमा ठूलो उतारचढाव हुने सम्भावना देखिदैन ।
गतसाता बजारमा औसत दैनिक चार अर्ब ८७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सातामा चार दिन मात्रै सेयर कारोबार हुँदा कुल १९ अर्ब ४८ करोडको सेयर किनबेच भएको छ । एकमहिना यता घट्दो क्रममा रहेको बजार गतसाता बढेको छ । बजार थप माथि जान कारोबर रकम पनि केही बढ्नुपर्ने तर्क विश्लेषकहरुको छ ।
गत साता म्युचुअल फण्ड समूह सबैभन्दा धेरै चार दशमलव ६९ प्रतिशत घटेको छ । सबैभन्दा धेरै जलविद्युत समूह दुई दशमलव ७३ प्रतिशत बढेको छ । सुपर मादी हाइड्रोपावरको भाउ सबैभन्दा धेरै २५ दशमलव ४२ प्रतिशत बढेको छ । नारायणी डेृभलपमेन्ट बैंकको सबैभन्दा धेरै ११ दशमलव ११ प्रतिशत गिरावट भएको छ ।