काठमाडौं । नेपाल विज्ञापन संघले विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीलगायत सबै पक्षहरूलाई संलग्न गरी आफ्नो २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले विज्ञापन बजारलाई चलायमान बनाउने निष्कर्ष निकालेको संघले जनाएको छ ।
साधारणसभाले संघका महासचिव र कोषाध्यक्षबाट प्रस्तुत गरिएको वार्षिक तथा आर्थिक एवं आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आय–व्यय विवरणहरू बहुमतले पारित गरेको छ । साधारणसभामा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरू लगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई ‘स्टेइङ रेलिभेन्टः रिसेपिङ नेपाल्स एड्भटाइजिङ ल्यान्डस्केप’ शीर्षकमा बृहत्अन्तरक्रिया गरिएको थियो ।
साधारणसभामा विज्ञापन उत्पादक एवं पत्रकार भूषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म भुषाल तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले आ–आप्mनो क्षेत्रको धारणा राखेका थिए ।
साधारणसभामा विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाको चित्रण गरेका थिए । कार्यक्रमको अन्तमा विज्ञापन व्यवसायी तथा मिडियाहरू समय सापेक्षरूपमा परिष्कृत हुनुपर्ने, विज्ञापनदाताहरूले पनि विज्ञापनलाई खर्चभन्दा लगानीको रूपमा लिनुपर्ने र विज्ञापनले गर्दा मिडियाहरूलाई आर्थिक आत्मनिर्भर बनाउने हुँदा मिडियाहरूले पनि विज्ञापनदाता र लक्षित समूहलाई आकर्षक हुने सामग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ स्वास्थ ऐन, क्लिन फिड नीतिलगायत विज्ञापनलाई बन्देज गर्ने कानुनहरूलाई समेत पुनःविचार गर्न सम्बद्ध सबै पक्षहरूले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निष्कर्ष निकालिएको छ ।
वरिष्ठ सञ्चारकर्मीहरू यादव खरेल, भारती सिलवाल गिरी, इमेज च्यानका अध्यक्ष आरके मानन्धर, कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष स्व पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजकर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत भई अहिलेको अवस्थामा ल्याइपुर्याउन उनीहरूले गरेको योगदानको कदर गर्दै संघले सम्मान प्रदान गरेको छ ।
एड फेस्टको अवसरमा थाइल्यान्डमा आयोजना हुने योङ लोटस वर्कसपमा सन् २०२४मा नेपालको प्रतिनिधित्व गरी अस्ट्रेलियालगायत एसिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरूका प्रतिनिधिहरू बीच भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँचभित्र पर्न सफल भई विश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रशन्न श्रेष्ठ र साइष्मा घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ । साधारणसभा काठमाडौंको ताहाचलस्थित होटल हायात प्यालेसमा आयोजना गरिएको थियो ।