काठमाडौं । बीबीसी मास्टरसेफ सन्तोष साहले बोल्न र सुन्न नसक्नेलाई लक्षित गरी हस्पिटालिटीसम्बन्धी निःशुल्क तालिम दिने अभियान सुरुआत गरेका छन् । काठमाडौंका ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट)को भगिनी संस्था गेट पोलिटेक्निक इन्स्टिच्युटसँगको सहकार्यमा साहले उक्त अभियान सुरु गरेका हुन् ।
यसका लागि विभिन्न संघ–संस्था र व्यक्तिहरूले हातेमालो गरेका थिए । मास्टरसेफ सन्तोष शाहले स्विजरल्यान्डमा च्यारिटी डिनर आयोजना गरेर आर्थिक सहयोग जुटाएका थिए । ‘यो केवल सीप प्रदान गर्ने कुरा होइन, यो समावेशितालाई प्रवद्र्धन गर्ने विषय पनि हो’, मास्टरसेफ साहले भने, ‘सही मार्गदर्शन र अवसर पाएमा अपाङ्गता भएका व्यक्तिहरूले समाजलाई उल्लेखनीय योगदान दिन सक्छन् । यो केवल सुरुवात हो; हाम्रो प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता छ ।’ बोल्न र सुन्न नसक्नेहरूलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको सेफ साहले जानकारी दिए । साहले अपाङ्गता भएकाहरूको क्षमता अभिवृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले अभियान सुरु गरिएको बताए ।
‘यो हाम्रो पहिलेदेखिको योजना हो, जसअन्तर्गत पहिलो चरणअन्तर्गत तालिमप्राप्त जनशक्तिको आइतबार ग्र्याजुएसन भएको छ’, उनले भने, ‘तालिमप्राप्त दक्ष जनशक्तिलाई रोजगारीका पनि सुनिश्चिता पनि गर्छौ ।’ उनका अनुसार बारिस्ता तालिम, हाउस किपिङ र बेकरी सञ्चालनलगायतका होटल व्यवस्थापनका विभिन्न विधामा आवश्यक सिप हासिल गरेका ३१ जना सहभागी थिए । सन् २०२४ को सुरुआतदेखि विभिन्न चरणमा गरी तीन सय ९० घण्टाको प्रशिक्षण प्राप्त बहिरा युवालाई दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको हो । साहको सक्रियतामा यसअघि पनि जनकपुरस्थित मिथिला थालीमार्फत पनि यसप्रकारका कार्यक्रम हुँदै आएको उनले बताए ।
गेट पोलिटेक्निक इन्स्टिच्युटका महाप्रबन्धक विवेक पौडेलले सुरुमा आफूहरूसँग दोभाषे नभए पनि अहिले भने सजिलो भएको बताए । उनका अनुसार सन् २०२४ मा युनिसेफको सहकार्यमा छ जना बहिरा युवालाई प्रशिक्षण दिन सुरु भए पनि कार्यक्रमले सफलता पाएसँगै कार्यक्रम विस्तार गरी वर्षको अन्त्यसम्म ३१ जनालाई निःशुल्क तालिम प्रदान गरिएको हो ।