काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट आइतबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले नौ एमएमको पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का पक्राउ परेको जानकारी दिए ।
उनले भने, “कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो टोलीले होटल विश्पुलबाट निज खड्कालाई पक्राउ गरेको हो ।”
प्रहरीले पक्राउ परेका खड्काको साथबाट एक थान नौ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन र नौ राउन्ड गोली समेत बरामद गरेको जनाएको छ । प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले यस विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।