काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकमा एक अर्ब २६ करोड रुपैयाँबराबरको निक्षेप अपचलन भएको पाइएको छ । राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिई गरेको छानबिनमा बैंकमा एक अर्ब २६ करोड रुपैयाँ अपचलन भएको भेटिएको हो ।
राष्ट्र बैंकले पुस ११ गते कर्णालीलाई समस्याग्रस्त घोषणा गर्दै बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति पठाई व्यवस्थापन हस्तक्षेप गरेको थियो । समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् । सो समितिले बिहीबारदेखि कार्य प्र्रारम्भ गरेको र प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक गरेको हो ।
उल्लिखित रकम कर्णाली विकास बैंकको नाममा अन्य बैंकमा रहेका खाताहरूको रकम तथा बैंकको सीबीएसमा प्रविष्ट रहेको रकमको अन्तरबाट अनुमान गरिएको छ । प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंकमा रहको कर्णाली विकास बैंकको खातामा (सीआरआर) रहेको मौज्दातमा २०८१ पुस ७ गते सम्मको २२ करोड ७४ लाख ६१ हजार दुई सय ८२ रुपैयाँ १६ पैसा मौज्दात देखिएको तर अहिले खातामा लगभग शून्य मौज्दात छ ।
कर्णाली विकास बैंकको विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई विगत केही वर्षदेखि अपचलनलाई लुकाइएको समितिले अनुमान गरेको प्रतिवेदनमा उल्लेख छ । सोधपुछको क्रममा यस अध्ययनमा सिधै संलग्नता पूर्वअध्यक्ष तथा पूर्वप्रमुख कार्यकारी अधिकृत, कार्यकारी अध्यक्ष राजेन्द्र वीर राय, पूर्वप्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव भन्ने वेदप्रकाश सिंह ठकुरी र हालका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ वित्त विभाग प्रमख÷सीएफओ नीरज विक्रम शाहले अपचलन गरेको प्रारम्भिक अनुमान लगाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष ओमप्रकाश मिश्राले हालका प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाहलाई अनौपचारिक प्रश्न गर्दा लगभग एक अर्ब राजेन्द्रवीर रायते र बाँकी रकम अन्य व्यक्तिहरूले अपचलन गरेको बताएकोे प्र्रतिवेदनमा उल्लेख छ । अध्यक्ष ओमप्रकाश मिश्रा र सञ्चालक निसार अहमद दर्जी, राजेन्द्रवीर राई र नीरजविक्रम शाहलाई सँगै राखेर प्रश्न गर्दा राजेन्द्रवीर रायले आफू प्रमुख कार्यकारी अधिकृत हुँदासम्मको रकम मात्र अपचलन गरेको स्वीकारेको तथा त्यसपछि अपचलनको जिम्मा आफ्नो नरहेको अभिव्यक्ति दिएका थिए । सोही क्रममा त्यही उपस्थित नीरजविक्रम शाहले यो भनाइको प्रतिवाद नगरेको हुँदा नीरजविक्रम शाहले पहिले दिएको अभिव्यक्तिमाथि शत्प्रतिशत एकिन गर्न सकिने अवस्था नरहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार अपचलन गर्न प्रयोग भएका सम्भावित तरिका÷साधनहरूमा कर्णाली विकास बैंकको चेकबाट अन्य बैंकमा रहेको मौज्दात निकासा गरी बैंकमा नबुझाई अन्यत्र लगेर राख्ने, खातामा ब्यालेन्स नभएकै अवस्थामा पनि चेक क्लियरिङ मार्फत रकमान्तर÷चेक भुक्तानी गरेर तथा सोझै भल्ट र टेलरबाट रकम झिकेर लानेगरेको देखिएको छ । समितिले सोही प्रतिवेदनको आधारमा यस कार्यमा संलग्न रहेको राजेन्द्रवीर राय, दिनेशकुमार रावत, वेदप्रकाश सिंह ठकुरी, नीरजविक्रम शाह, अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाउने, माथि उल्लिखित सबैको तथा उनको नजिकको नातेदारको सम्पत्ति रोक्का गर्न आवश्यक कदम चाल्ने, नेपाल राष्ट्र बैंकलाई पत्र काटेर तुरुन्त घटनाको जानकारी गराउने, प्रहरीलाई पत्र काटेर प्रधान कार्यालय तथा शाखा कार्यालयलाई सुरक्षा प्रदान गर्न अनुरोध गर्नेलगायतको सुझाव दिएको छ ।
समितिको कार्यअवधि १५ दिनको रहे पनि अपराधको गम्भीर प्रकृति देखिएकाले तुरुन्त कार्यबाहीको आवश्यकता भएको हुनाले हाललाई प्रतिवेदन बुझाई थप अनुसन्धानको प्रक्रियालाई अगाडि बढाउन राष्ट्र बैंक र प्रहरीलाई सहयोग गर्ने प्रतिवेदनमा उल्लेख छ ।