काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षासम्बन्धी भिडियोमार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यस अभियानले फेरि पनि शाओमीको समाजको हितप्रतिको प्रतिबद्धतालाई झल्काएको छ ।
यो सचेतना अभियानले ट्राफिक नियमहरूको पालना गर्नुको महत्व तथा सडक सुरक्षाको बेवास्ता गर्दा हुने गम्भीर परिणामहरूलाई विशेष जोड दिएको छ । भिडियोमा नेपालमा हुने सडक दुर्घटनाका मुख्य कारणजस्तै तीव्र गतिमा सवारी चलाउनु, मद्यपान गरेर सवारी हाँक्नु, गलत ठाउँमा बाटो काट्नु, ओभरहेड पुल प्रयोग नगर्नु र सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्नुलाई सम्बोधन गरेका छ । अभियानको मूल उद्देश्य भनेको जिम्मेवार भएर सवारी चलाउने अभ्यासलाई प्रवद्र्धन गर्नुका साथै सडक दुर्घटना र यसबाट हुने मृत्युदर कम गर्नुरहेको कम्पनीले बताएको छ ।
शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले शाओमीको लक्ष्य व्यापार मात्र नभई समुदायहरूको सुरक्षा र कल्याणमा योगदान पुर्याउनु पनि रहेको बताए । ट्राफिक प्रहरीसँगको सहकार्यमा सञ्चालन गरिएको यो ट्राफिक सचेतना अभियान नेपालका सडकलाई सबैका निम्ति सुरक्षित बनाउने कम्पनीको प्रयास भएको उनले बताए । शाओमी नेपाल र नेपाल ट्राफिक प्रहरीबीचको यो सहकार्यले सडक सुरक्षा र ट्राफिक नियमहरूको पालनाको महत्वबारे सर्वसाधारणलाई सचेत बनाउनुका साथै सडकलाई सुरक्षित बनाउन मद्दत पुर्याउनेछ । सामाजिक उत्तरदायित्वप्रति समर्पित व्यापारिक संस्था भएकाले शाओमी नेपाल स्थानीय समुदायहरूको जीवनमा सुधार ल्याउन विभिन्न अभियानहरूमा नियमितरूपमा सहभागी हुँदै आएको छ । यस अभियानले शाओमी नेपालले भविष्यमा पनि नेपाली समुदायको हितमा काम गर्ने प्रतिबद्धता दर्शाएको छ ।