दक्षिण कोरिया । दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ । विमान बैंककबाट फर्कदै गरेको थियो । सियोलबाट दुई सय ८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जिओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर आइतबार बिहान दुर्घटना भएको थियोे ।
विमानमा सवार एक सय ७५ यात्रु र चालक दलका छ सदस्यगरी एक सय ८१ मध्ये एक सय ७६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । चालक दलका दुई सदस्यलाई जीवितैे उद्दार गरिएको छ ।
‘विमान भित्तामा ठोक्किएपछि यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो । जीवित उद्धार भएका दुई यात्रुको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ,’ अग्निनियन्त्रक निकायका एक अधिकारीले भने । ‘विमान लगभग पूर्णरुपमा ध्वस्त भइसकेको छ र मृतकको पहिचान गर्न कठिन छ,’ ती अधिकारीले भने ।
दुर्घटनालगत्तै एक यात्रु र चालक दलका एक सदस्यलाई उद्धार गरी मोक्पोको एक अस्पतालमा उपचार भइरहेको छ । विमानमा सवारमध्ये दुई जना थाई नागरिकबाहेक अधिकांश कोरियाली नागरिक थिए ।
स्थानीय टिभी स्टेसनहरूले प्रसारण गरेको भिडिओमा विमानले आफ्नो ल्यान्डिङ गियरविना नै अवतरण कोसिस गरेको देखाइएको छ । विमान भुइँमा चिप्लिँदा कङ्क्रिटको पर्खालमा ठोक्किएर विस्फोट भएको र त्यसबाट एक्कासि आगोको ज्वालो निस्किएको थियो ।
अधिकारीहरुका अनुसार चराको आक्रमणका कारण ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारणबारे थप विवरण पत्ता लगाउन स्थलगत अनुसन्धान सुरु भएको छ ।