काठमाडौं । कर्जा असुलीमा समस्या देखिँदा बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति लगातार बढ्दै गएको छ । आर्थिक गतिविधि बढ्न नसक्दाको असर बैंक तथा वित्तीय संस्थाको कर्जामा देखिएको छ । बैंकिङ क्षेत्रमा निक्षेप बढेर अधिक तरलताको अवस्था रहेको भए पनि कर्जाको माग निकै नै न्यून रहेको छ ।
अर्कोतर्फ विगतमा प्रवाह गरेको कर्जाबाट पनि बैंक तथा वित्तीय संस्थाहरूले नियमितरूपमा साँवाब्याज असुली गर्न सकेका छन् । यो अवस्थामा कर्जा असुलीको लागि धितो लिलामीको प्रक्रियामा जाँदा पनि आर्थिक मन्दीकै कारण धितो बिक्री हुने अवस्था छैन । एउटै धितो लिलामी गर्नको लागि आधा दर्जनभन्दा बढी पटक सार्वजनिक सूचना जारी गर्दा पनि लिलाम सकार गर्ने, व्यक्ति, संस्था वा कम्पनी पाउन निकै नै मुश्किल छ । यो अवस्थामा धितो लिलाम बिक्री हुन नसकेकै आधारमा बैंक तथा वित्तीय संस्था कम्पनीहरूले त्यस्तो धितो आफैँले स्वप्रयोजनको लागि वा पछि बिक्री गर्नेगरी गैरबैंकिङ सम्पत्तिको रूपमा सकार गर्नेगरेका छन् । यही कारण पछिल्लो समय बैंकिङ प्रणालीमा गैरबैंकिङ सम्पत्ति निरन्तर बढ्दै गएको छ ।
कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति बढेर ३८ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा १६ अर्ब ३४ करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रमा २१ अर्ब ९१ करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो ।
चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूमा मात्र कुल ३२ अर्ब ३३ करोड ७० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ अर्ब ११ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल १८ अर्ब २१ करोड ८० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो ।
विकास बैंकहरूमा मात्र पछिल्लो अवधिमा तीन अर्ब ६६ करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । यो सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब २७ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा दुई अर्ब ३८ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । यसैगरी फाइनान्स कम्पनीहरूमा पनि पछिल्लो समय दुई अर्ब २६ करोड १० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४ करोड ९० लाख रुपैयाँ बढी हो । गत वर्ष फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति एक अर्ब ३१ करोड २० लाख रुपैयाँ थियो ।