काठमाडौं । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना हुने भएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने भएको हो । गाउँपालिकाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रमण वर्षको बारेमा जानकारी गराएको छ । गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन गरेको पालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । सचिवालयमा होटल संघ, रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको छ ।
प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण एव विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या वार्षिक दुई लाख पुर्याउने उद्देश्यसहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको अध्यक्ष थापाले बताए । सचिवालय संयोजक पर्यटन बैश गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको संख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ । भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।
गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ । साथै, विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रूपैयाँ पुर्याइनेछ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ । यसका लागि आवश्यक पूर्वाधार निर्माण, नयाँ गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सिर्जना, होटल तथा रेस्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ ।
‘पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवर्द्धन गरिनेछ भने विद्यमान पर्यटकीय केन्द्र र उपजहरूका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रवद्र्धन गरिनेछ’, उनले भने । साथै, यहाँको सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिने जनाइएको छ । सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रवर्द्धन हुने आफूहरूको अपेक्षा रहेको पर्यटन विज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले बताए । भ्रमण वर्ष सफल पार्न कुल चार करोड ४३ लाख ५० हजार रूपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरूबाट अपेक्षा गरिएको प्रतिबद्धतालाई समेत राखिएको छ । साथै, नेपाल सरकारको बन्दीपुर गाउँपालिकाअन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ ।