काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । हालै सम्पन्न महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । योसँगै क्यान महासंघले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । पाण्डेले यसअघि क्यान महासंघमा लामो समय विभिन्न भूमिकामा रहेर कार्यसम्पादन गरिसकेकी छिन् । उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक समेत हुन् ।
महासंघको १५औँ कार्यसमितिको उपाध्यक्षमा, हर्क बहादुर सेटी, चिरञ्जीवी अधिकारी, नविन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, महासचिवमा चन्द्र विलास भुर्तेल र कोषाध्यक्षमा विक्रम सिंह निर्वाचित भएको महासंघले जनाएको छ । महासंघको सचिवहरूमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, राम किशोर रावल र कर्णराज पनेरु चयन भएका छन् ।
त्यस्तै, कार्यकारिणी सदस्यहरूमा उमेश रघुबंशी, ध्रुवराज शर्मा, केशव प्रसाद भट्टराई, नारायण प्रसाद श्रेष्ठ, ठाकुर कुमार श्रेष्ठ, हेमपाल श्रेष्ठ, शिला कंसाकार कार्की, दिपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोला, ओमकार बस्नेत, दिनेशराज कार्की, बन्दना शर्मा ज्ञवाली, देवेश प्रसाद लोहनी, सन्तोष कुमार श्रेष्ठ, राजु बानियाँ, मोना न्याछ्यो श्रेष्ठ, राजेश दुगड, गंगा भण्डारी, विकास गुरुङ, विमला राई, धनञ्जय महतो र खड्क बहादुर गुरुङ निर्वाचित भएको महासंघले जनाएको छ । त्यस्तै, लेखासमितिको संयोजकमा भानुभक्त शर्मा र सदस्यहरूमा सन्तोष ढुंगाना र पूजा अग्रवाल चयन भइका छन् ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयत्न गरिने बताइन् । नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन नीतिगत सुधारको खाँचो रहेको र यसका लागि आफूले विशेष पहल गर्ने उनको दाबी थियो । ‘नेपालबाट विदेशमा आईटी कम्पनी विस्तार गर्नेदेखि विदेशबाट नेपालमा गुणस्तरीय आईटी परियोजना ल्याउन कठिनाइ भइरहेको छ’, उनले भनिन्, ‘यहाँका श्रमशक्तिलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्छ । सरकार र सूचना प्रविधिमा संलग्न संघसंस्थासँग समन्वय गरेर मात्रै आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ ।’ त्यस्तै, नवनिर्वाचित महासचिव भूर्तेलले क्यान महासंघको कार्यक्षेत्र विस्तार गर्न विशेष ध्यान दिने र संस्थागत सुधारका लागि ठोस रणनीति अपनाएर लक्ष्यहरू हासिल गर्ने प्रतिबद्धता जनाए ।