सुरेश राउत
काठमाडौं, साउन १
राजस्व अनुसन्धान विभागले विभिन्न फर्म तथा कम्पनीहरुविरुद्ध छ अर्ब ६० करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले बुुधबार भन्सार, मूल्यअभिवृद्धि कर र आयकर राजस्व चुहावटको कसुरमा छवटा मुद्दा दर्ता गरेको हो । काठमाडौंको सोह्रखुट्टेमा रहेको हाइटेक इन्टरनेशनल प्रालि, ललितपुरको सानेपामा रहेको जेएसएस मोबाइल एण्ड सर्भिसेज, वैष्णोटेक कन्सर्नसहित, जयमातादी इन्टरप्राइजेजसहितका कम्पनीका सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तहरुबाट छ अर्ब ६० करोड बिगो असुलउपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
मुुद्दा दर्ता गरिएकामध्ये काठमाडौं महानगरपालिका वडा नं. १७ सोह्रखुट्टेमा सञ्चालनमा रहेको स्थायी लेखा नम्बर ३०५०३७८९५ रहेको हाइटेक इन्टरनेशनल प्रालिका सञ्चालक समेत दुई जनालाई राजस्व चुहावट गरेको अभियोगमा दुई अर्ब ४२ करोड ९८ लाख बिगो कायम गरी उक्त बिगो असुलउपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदाबी गरिएको छ । उक्त कम्पनीले भन्सार विन्दुबाट माल वस्तु पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी लुकाई चोरी पैठारी गरी नेपालमा ल्याई आफ्नो कारोबार स्थलमा राखेको, कारोबार स्थलबाट केही मालवस्तुको मात्र आधिकारिक बिलबीजक जारी गरी धेरैजस्तो मालवस्तुको लुज बिल जारी गरी वा न्यून बीजकीकरण गरी यथार्थ कारोबारको छुट्टै लेजर खडा गरी अभिलेख राखी कारोबार लुकाई यथार्थ कारोबार नदेखाई सरकारलाई तिर्नुपर्ने भन्सार, मूल्यअभिवृद्धि कर तथा आयकर छली गरेको देखिएको विभागले जनाएको छ ।
विभागका अनुसार उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (ख), (ग) र (छ) (पहिलो संशोधन, २०७६ समेतको) ऐनको दफा ४ (क), (ख), (च), (छ) र (ज) बमोजिम कसुर गरेकोले भन्सार चुहावटतर्फ एक अर्ब ७१ करोड ५६ लाख २८ हजार एक सय ११ रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ५९ करोड २८ लाख १३ हजार ८० र आयकर तथा लाभांश कर १२ करोड १४ लाख ३४ हजार नौ सय ४९ रुपैयाँसहित कुल दुई अर्ब ४२ करोड ९८ लाख ७६ हजार एक सय ४० रुपैयाँ राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले हाइटेक इन्टरनेशनल प्रालिका प्रोपाइटर तथा उक्त प्रालिका कर्मचारीलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (सं.स.) को दफा २ (छ) (१) बमोजिम उक्त रकम बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) र २३ (४) एवं राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (संशोधित) ऐन, २०५२ को दफा २३ (१), दफा २३ (१) (घ) तथा २३ (४) बमोजिम बिगो रकम दुई अर्ब ४२ करोड ९८ लाख ७६ हजार एक सय ४० रुपैयाँ असुलउपर गरी जरिवाना र कैद समेत मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
विभागले ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा सञ्चालनमा रहेको स्थायी लेखा नम्बर ३०४४९२ भएको जेएसएस मोबाइल एण्ड सर्भिसेज प्रालि, स्थायी लेखा नम्बर ६०१०९५०१६ भएको श्याम इम्पेक्स र स्थायी लेखा नम्बर ६०१०९५०२९ भएको श्याम बाबा इन्टरप्राइजेजका सञ्चालक र प्रोपाइटर तथा मुख्य कारोबारी समेत चार जनालाई राजस्व चुहावट गरेको अभियोगमा एक अर्ब ३९ करोड सात लाख बिगो कायम गरी उक्त बिगो असुलउपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदाबीसहित उच्च अदालत पाटनमा मुुद्दा दायर गरेको हो ।
विभागका अनुसार सोही दिन झूठो तथा नक्कली मूल्यअभिवृद्धि करबीजक लेनदेन गरी तथा भन्सार चोरी पैठारी निकासी गरी मूल्यअभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको कसुरमा फर्महरुका सञ्चालक, प्रोपाइटर तथा मुख्य अभियुक्तहरुबाट छ अर्ब ६० करोड बिगो असुलउपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदाबी बुधबार उच्च अदालत पाटनमा मुुद्दा दर्ता गरिएको छ ।
२० लाख रुपैयाँसम्म कारोबार गर्ने संस्थाले मोबाइलबाटै कर बुुझाउनसक्ने : साना करदाताहरुले मोबाइल एप्स तथा अन्य विद्युतीय माध्यमबाट पनि कर बुुझाउन सक्ने भएका छन् । आन्तरिक राजस्व कार्यालयले कर संकलन गर्ने वाणिज्य बैंकहरुको व्यवस्थाअनुसार एप्समार्फत कर बुुझाउने व्यवस्था कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने साना करदाताले आयविवरण तथा कर मोबाइल एप्सलगायत अन्य विद्युुतीय माध्यमबाट बुझाउनसक्ने र बैंकमार्फत कर भुक्तानी गर्दा आयविवरण समेत मिलाइने नीति घोषणा भएकोमा सोको कार्यान्वयनको लागि महालेखा नियन्त्रकको कार्यालय तथा आन्तरिक राजस्व विभागका कर्मचारीहरु समेतको सहभागितामा भएको छलफलअनुसार उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।
यसैबीच, राष्ट्र बैंकले पुनर्कर्जा पाउने बैंक तथा वित्तीय संस्था एवं ग्राहक ऋणीहरु समेतको नामावली सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा साधारण तथा निर्यात पुनर्कर्जा पाउनेहरुको नामावली सार्वजनिक गरिएको हो । सोअनुुरुप ग्लोबल आईएमई बैंक, प्रभुु बैंक, माछापुुच्छे« बैंकसहितका एक सय ३२ वटा बैंक तथा वित्तीय संंस्था एवं कम्पनीहरुले साधारण पुुनर्कर्जा लिएका छन् । निर्यात पुनर्कर्जातर्फ भने नेपाल फेसन प्रालि, रिलायन्स स्पिनिङ मिल, आरती भेजिटेबल प्रोडक्ट्ससहितका कम्पनीहरुले पुनर्कर्जा लिएका छन् ।