काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार अभियानकर्मीहरुसँग भएको भेटमा नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्रीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा मंगलबारदेखि आरम्भ भएको सो अभियानलाई शुभकामना दिएको जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ । बालविवाह एक कानुनी अपराध का साथै सामाजिक समस्या पनि भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बालविवाह मुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षर गरेका छन् ।
सो भेटमा बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा सम्लग्नहरुका साथै पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भुहरुको उपस्थिति रहेको थियो ।