काठमाडौं, साउन १
नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट परहवा नगरपालिका–७ का ३६ वर्षीय पुरुष रहेका छन् । नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार ती व्यक्तिसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । मृतक भारतको बैङ्गलोरबाट यही असार २४ गते फर्की पारहवाकै आइसोलेसनमा बसेका थिए । उनी कोभिड–१९ का कारण मृत्यु भएका आफ्ना दाइको अन्तिम संस्कारका लागि भारतको बैङ्गलोर गएका थिए ।
आइसोलेसनमा बसेका बेला यही असार २९ गते रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोही दिन अस्पतालमा भर्ना गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । स्वास्थ्यमा थप समस्या देखिएपछि आजै भेन्टिलेटरमा उपचारका क्रममा उनको निधन भएको हो । यसैबीच, नेपालमा थप १ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरिका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १ सय ७७ पुगेको छ । तीमध्ये छ हजार १ सय १४ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमितमध्ये सुर्खेतमा २८, सप्तरीमा १३, नवलपरासी (पूर्व)मा ११, म्याग्दीमा नौ, चितवनमा आठ, काठमाडौँमा सात, धनुषामा छ, रौतहटमा पाँच तथा कास्की, तनँहु, सल्यान र दैलेखमा तीन÷तीन जना रहेका छन् । यस्तै डडेल्धुरा, जुम्ला र सल्यानमा दुई/दुई जना तथा धनकुटा, मोरङ, ताप्लेजुङ, नुवाकोट, सिन्धुपाञ्चोक, धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एक/एक जनामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी सङ्क्रमितध्ये प्रदेश तहमा प्रदेश नं.१ मा तीन, प्रदेश नंं २ मा २४, वाग्मतीमा १८, गण्डकीमा २७, प्रदेश नंं ५ मा एक, कर्णालीमा ४० र सुदूरपश्चिम प्रदेशमा तीन छन् । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ६ सय ९७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २५ रहेको उनले बताए । डिस्चार्ज हुनेको सङ्ख्या कुल सङ्क्रमितको ६४.२ प्रतिशत हो ।