काठमाडौं । ग्लोबल आईएमई बैंकले वित्तीय कारोबार सञ्चालनको १८ वर्ष पूरा गरेको छ । बैंकले यही पुस १८ गते व्यावसायिकरूपमा वित्तीय कारोबार सञ्चालनको १८ वर्ष पूरा गर्न लागेको हो । यस अवधिमा ग्लोबल आईएमई बैंक आफूसहित सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्येमा सबैभन्दा ठूलो बैंक, सबैभन्दा बढी शाखा सञ्जाल र ७७ वटै जिल्लामा शाखा भएको बैंक, सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा आफ्नो परिचय स्थापित गरेको छ । यसबाहेक ग्लोबल आईएमई बैंक एउटा त्यस्तो बैंक हो, जसले नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई सवल, सफल र प्रभावकारी बनाउन ल्याएको मर्जर तथा प्राप्तिसम्बन्धी नीतिलाई सफलरूपमा कार्यान्वयनमा ल्याउने बैंक पनि हो । ग्लोबल आईएमई बैंक कारण राष्ट्र बैंकको मर्जर तथा प्राप्तिसम्बन्धी नीति सफल भएको हो । ग्लोबल आइएमई बैंकले आफ्नै संस्थामा मात्र साना ठूला समेत गरी एक दर्जन बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति गर्न सफल भएको छ भने अर्कोतर्फ अन्य संस्थाहरूलाई पनि मर्जर तथा प्राप्तिमार्फत सबल बन्न प्रेरणा तथा हौसला दिएको छ ।
ग्लोबल आइएमई बैंकको पछिल्लो वित्तीय अवस्था
ग्लोबल आईएमई बैंकको २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ भने कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन । एफपीओ जारी गर्दा तथा हकप्रद सेयर जारीपश्चात लिलाम गरी बिक्री गरिएका सेयरबाट संकलन गरिएको सेयर प्रिमियमको रकम र निकायहरू एक आपसमा गाभिँदा, सेयर स्वापको कारण गाभिनुपूर्वको पुँजी र गाभिएपश्चात कायम भएको पुँजीको भिन्नताको रकम (पुँजीगत जगेडा कोष)बाट आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई वितरीत लाभांश रकमलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सम्मानित सर्वोच्च अदालतसम्म पुगी, पुँजीगत जगेडा रकम र सेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ एक अर्ब ३२ करोड ३९ लाख ६१ हजार तीन सय ८१ रूपैयाँ थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकाले बैंकको जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा आठ सय ८६ दशमलव ७३ करोड र करपछिको मुनाफा छ सय १३ दशमलव ७४ करोड हासिल गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंकको खुद व्याज आम्दानी गत वर्षभन्दा २५ करोडले कमी भएको छ भने फि शुल्क तथा सञ्चालन आम्दानीमा भने एक सय १२ दशमलव ७७ करोडले वृद्धि भएको छ । त्यस्तै, सञ्चालन खर्चतर्फ पनि एक सय आठ दशमलव ४६ करोडले वृद्धि भएको छ ।
समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५ दशमलव ६९ करोडले कमी आएको छ । कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षाअनुसारको कर्जा तथा व्याजको असुली नभएका कारणले गत आर्थिक वर्षजस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद नाफामा सङ्कुचन आएको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासको प्रगति
चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा बैंकको निक्षेपमा २४ दशमलव ५१ अर्बले वृद्धि भई पाँच सय २९ दशमलव ३८ अर्ब पुगेकोे छ, भने कर्जा लगानीतर्फ पनि २७ दशमलव ८६ अर्बले वृद्धि भई चार सय १८ दशमलव ६३ अर्ब पुगेकोे छ । चालु वर्षको प्रथम त्रैमास अवधिमा बंैकले एक सय ५१ करोडभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तमा बैंकको निष्कृय कर्जा चार दशमलव ६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको छ ।
भावी कार्यक्रम
आगामी दिनमा ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीहरूलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रूपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरू सञ्चालन गरिने छ । बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवद्र्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्याउने लक्ष्य लिएका छौँ । भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संसाधनको लागत समेत घट्न जाने विश्वास रहेको छ ।
बैंकको भावी रणनीति तथा कार्ययोजनाहरू
‘सबैको लागि बैंक’ भन्ने नारालाई व्यवहारमा नै रूपान्तरण गर्न स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयमार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य सफलताउन्मुख रहेको बैंकको ठम्याइ छ । हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा कार्यालय, शाखारहित बैंकिङ सेवा, एटीएम, एक्सटेन्सन र अन्य काउन्टरसमेत गरी कुल एक हजार एक सय सेवा केन्द्रमार्फत करिब ५० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । मुलुकभर अझै पनि ठूलो संख्यामा बैंकिङ पहुँचबाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति बैंकको प्राथमिकतामा छ ।
आगामी समयमा बैंकले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्ययोजना अनुरूपका रणनीतिहरू कार्यान्वयन गर्दै जानेछ । यसका लागि बैंकले निक्षेपतर्फ चल्ती र बचत खातामा जोड दिँदैछ भने कर्जा प्रवाहतर्फ साना मझौला कर्जा, उपभोग्य कर्जा, सरकारको प्राथमिकतामा राखेका क्षेत्रलाई प्राथमिकता प्रदान गर्ने नीति लिएको छ । त्यस्तै, बैकिङ सेवा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिने छ । बैंकले निक्षेपकर्ता, ऋणी र सेयरधनी तीनै पक्षलाई लाभ हुने गरी बैंकिङ सेवामा जोड दिने भएको छ । जसबाट सेयरधनीहरूलाई उचित प्रतिफल प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यलाई आत्मसाथ गर्दै दिगो, न्यून कार्बन, वृत्ताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधिलाई थप प्रवर्द्धन गरिने बैंकले जनाएको छ । लैङ्गिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकासको लक्ष्यलाई थप टेवा पुर्याउने हेतुले केन्द्रीयस्तरमा बैंकले हरित तथा दिगो बैंकिङ इकाई स्थापना गरी कार्यक्रम अगाडि बढाइरहेकोमा सो कार्यलाई निरन्तरता दिई नेपालको अग्रणी बैंकको रूपमा स्थापित गर्ने/गराउने नीति लिने भएको छ ।
बैंकले थप भ्यालु एडेड सर्भिसेज तथा प्रोडक्ट बजारमा पुर्याउने कार्ययोजना बनाएको छ । निक्षेप तथा कर्जाका विभिन्न प्रोडक्टहरूको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आवश्यकताअनुरूप थप परिमार्जन गर्ने तथा नयाँ प्रोडक्टको विकास गरी कार्यान्वयन गर्दै जाने योजना बनाएको छ । हालै बैंकले प्रविधिमा आधारित ग्लोबल जुनियर एप तथा सेयरधितो द्रूत कर्जा कार्यान्वयनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता राखेको छ ।
घरेलु कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको विकासबाट मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्नेमा सबै अर्थशास्त्री, व्यवसायीबीच समान विचार छ । यही मान्यतालाई आत्मबोध गर्दै बैंकले यस क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ । त्यस्तै, निक्षेप संकलनको हकमा पनि जनसाधारणकै बचतलाई लक्षित गर्दै आएको र यसलाई नै बैंकको आधारभूत स्रोतको रूपमा महत्व दिएको बैंकले जनाएको छ । यो नीतिलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने बैंकको भनाइ छ ।
मुलुकभर विकासको पूर्वाधार निर्माणसम्बन्धी कार्य निरन्तररूपमा वृद्धि भइरहेको र पूर्वाधार विकास मुलुकको तीनवटै तहका सरकारको प्राथमिकतामा भएको परिप्रेक्ष्यमा सो अवसरलाई सदुपयोग गर्नेगरी निर्माण व्यवसायीहरूको आवश्यकता र सुविधालाई ध्यानमा राखी आपसी सहकार्यलाई प्राथमिकता दिइने छ ।
विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रको मेरुदण्ड हुनुका साथै यस बैंकको व्यवसायको एउटा प्रमुख र भरपर्दो आधार समेत हो । संसारभर विभिन्न राष्ट्रमा रहेका बैंकका आधिकारिक प्रतिनिधिहरूको साथै स्वदेशी र विदेशी व्यावसायिक साझेदारहरूसँगको सहकार्यबाट हालसम्म विश्वका विभिन्न मुलुकबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याउँदै आएको बैंकले जनाएको छ । आगामी वर्ष यस बैंकमार्फत भित्रिने रेमिट्यान्सलाई थप वृद्धि गर्न रेमिट्यान्स बजार विस्तार तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने नीति बैंकले लिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मानहरू
ग्लोबल आइएमई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित हुँदै आएको छ । बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन २०२२ मा युरोमोनी अवार्ड, द बेस्ट बैंक नेपाललगायतका अवार्डहरू प्राप्त गरेको छ । साथै, बैंकले आन्तरिकरूपमा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै २१ दशमलव एक प्रतिशत रेमिट्यान्स भित्र्याएको हिसाबले सम्मानित भएको छ । विश्वमै ख्यातिप्राप्त युरोमनी म्यागेजिनले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञबाट गहिरो अध्ययन तथा विश्लेषण गराई तोकिएको मापदण्ड पूरा गर्ने बैंकलाई विविध विधामा युरोमनी अवार्ड प्रदान गर्दै आएकोमा नेपालबाट ग्लोबल आइएमई बैंक ‘द बेस्ट बैंक इन नेपाल २०२४–बेस्ट बैंक फर ईएसजी (इन्भायरोमेन्टल, सोसियल एन्ड गभर्नेन्स)बाट सम्मानित भएको छ ।
त्यसैगरी ग्लोबल फाइनान्स–बेस्ट बैंक अवार्ड २०२४ बाट समेत सम्मानित भएको छ । विश्वसनियता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो र ग्लोबल फाइनान्सको प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक समेत हो । राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रूपमा नेपाल सरकार, आन्तरिक राजस्व विभागले ग्लोबल आइएमई बैकलाई सम्मानित गरेको छ ।
धेरै विप्रेषण भित्र्याउने बैंकको रूपमा सम्मानित
आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै २१ दशमलव एक प्रतिशत विप्रेषण (रेमिट्यान्स) भित्र्याउने बैंकको रूपमा यस बैंक सम्मानित भएको छ । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा पुर्याएको योगदानका लागि सो प्रशंसापत्र प्राप्त भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सो सम्मान प्रदान गर्दै आएको छ ।
ग्राहक सम्बन्ध
बैंकको ग्राहक सङख्यामा निरन्तर वृद्धि भइरहेको छ । हाल यस बैंकको निक्षेप ग्राहक सङ्ख्या करिब ५० लाखभन्दा बढी पुगेको सहर्ष जानकारी गराउन चाहन्छु । मर्जर तथा व्यवसायको निरन्तर विस्तारको कारण वृद्धि हुँदै गइरहेको बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि कायम राख्दै सम्पूर्ण ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखी बैंकको ग्राहक सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने नीति अवलम्बन गर्नेछौँ ।
अर्थतन्त्रमा योगदान
समीक्षा वर्षमा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र स्रोतमा कर कट्टी गरी छ अर्बभन्दा बढीको योगदान गरेको छ । यसका अतिरिक्त नियमित र सेवा सम्झौतामार्फत् ३८ सय जनाभन्दा बढी नेपाली नागरिकहरूलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको बैंकले जनाएको छ । भूकम्पमा जनधनको क्षति भएका, फरक क्षमता भएका बालबालिका, विद्यार्थीलाई दिवा खाजा, खेलकुद, महामारी नियन्त्रण लगायतको क्षेत्रमा समीक्षा वर्षमा सात करोड १९ लाख बराबरको बैंकले योगदान गरेको सूचनामा उल्लेख छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट सेयरधनीहरूलाई बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार दुई सय ५२ रूपैयाँ) को पाँच दशमलव पाँच प्रतिशत अर्थात् अक्षरेपी एक अर्ब ९८ करोड ७० लाख ८२ हजार तीन सय ६३ रूपैयाँ र ८६ पैसा मात्र) लाभांस बोनस सेयरको रूपमा वितरण गर्न प्रस्ताव गरेको छ ।
संस्थागत सुशासन
बैंकमा संस्थागत सुशासन कायम राख्ने विषयमा सञ्चालक समिति तथा व्यवस्थापन सदैव प्रतिबद्ध रहेको छ । बैंकको विस्तारित कारोबार तथा शाखा सञ्जाललाई दृष्टिगत गरी संस्थागत संरचनामा समय सापेक्ष परिवर्तनलगायत सुशासनमा पनि ध्यान केन्द्रित गर्दै आएका छौंँ । संस्थागत सुशासनको अन्तर्राष्ट्रिय मापदण्डहरू, असल अभ्यासलगायत अन्य मार्गदर्शनहरू समेत पूर्णपालन गर्दै आएका छौंँ । यसका साथै, सञ्चालक समितिका सबै सदस्यहरू एवं कर्मचारीहरूले नेपाल राष्ट्र बैंकबाट तोकिएको आचरणसम्बन्धी व्यवस्थाहरूको पूर्ण परिपालन गरिआएका छौं। बैंकको विस्तारित व्यवसाय तथा अन्य सञ्चालन गतिविधिहरूको आधारमा आन्तरिक नियन्त्रणलगायत अन्य पक्षहरूको कार्यान्वयनलाई समय साक्षेप हुने गरी थप मजवुत बनाउनुका साथै कर्मचारीको कार्यक्षमता अझ सबल बनाउनका लागि बैंकको संगठन तालिका तथा पदाधिकारीहरू काम र जिम्मेवारीमा आवश्यकताअनुसार हेरफेर गरिँदै आएको छ ।