काठमाडौं । सामना बैंकिङ पुरस्कार गुठीले २०८१ सालको ७५ हजार रूपैयाँ रासीको सामना बैंकिङ पुरस्कार बैंकिङ विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ । उक्त पुस्तक बैंकिङ एन्ड इन्स्योरेन्स प्रालिले प्रकाशन गरेको थियो । उनलाई उनले लेखेको पुस्तक बैंकिङ अनुशासन दिगो विकासका लागि पुस्तकका लागि पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए ।
प्राडा विश्वम्भर पोखरेल, प्राडा गोविन्द नेपाल र बैंकर तथा साहित्यकार कृष्ण प्रधान रहेको मूल्याङ्कन समितिले उक्त पुरस्कार घर्तीलाई प्रदान गर्नका लागि सिफारिस गरेको थियो । नेपाल बंगलादेश बैंक, एनआईसी बैंक र किस्ट बैंकमा समेत काम गरेका बीएन घर्ती किष्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत समेत भएर कार्य गरेका थिए । किष्ट बैंक प्रभु बैंकमा गाभिएपछि स्वैच्छिक अवकाश लिएका घर्तीले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति, उच्च व्यवस्थापन र अन्य कर्मचारीलाई तालिम दिने र नीति, कार्यविधि, रणनीतिक योजना आदि बनाउन परामर्श दिने कार्य गर्दै आएका छन् ।
उनको परामर्शमा केही वित्तीय संस्था समस्याग्रस्त अवस्थाबाट बाहिर फर्केका छन् र केही वित्तीय संस्था मर्जर प्राप्तिमा समेत गएका छन् । सर्वसाधारणले पनि बुझ्न सकिने सरल भाषा प्रयोग गरिएको, राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने विषयलाई विश्लेषणात्मकरूपमा प्रस्तुत गरिएको, बैंक तथा वित्तीय संस्थाले बिराएका बाटाहरूका केलाउँदै आगामी दिनमा तय गर्नुपर्ने विषयलाई व्यावहारिक सुझाव दिइएको, बैंकहरूले अत्यधिक कमाएका छन् भन्ने भ्रमलाई तथ्याङ्कहरू उल्लेख गर्दै चिर्न खोजिएको, सञ्चालन जोखिमलाई विशेष प्राथमिकतासाथ उठान गरिएको, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुपालनाका लागि गर्नुपर्ने कार्यलाई विशेषरूपमा उठान गरिएको आदि कारणले घर्तीलाई उक्त पुरस्कार प्रदान गर्न सिफारिस गरिएको मूल्याङ्कन समितिका सदस्य कृष्ण प्रधानले बताए ।
घर्तीले लेखेको पुस्तक प्रडक्टका दृष्टिकोणबाट उत्कृष्ट रहेको, समेटिएका र विश्लेषण गरिएका विषय अत्यन्तै सान्दर्भिक रहेको र विषय वस्तुलाई अत्यन्तै मिहिन तरिकाले केलाइएकाले आफूहरूले पुरस्कारका लागि सिफारिस गरेको मूल्याङ्कन समितिका अर्का सदस्य कृष्ण प्रधानले बताए ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरू गणेशबहादुर थापा र डा. तिलक रावल, काठमाडौं विश्व विद्यालयका रजिष्ट्रार प्रा. डा. अच्युत वाग्लेलगायतका अतिथिहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व गुठीका अध्यक्ष डा. रेवतबहादुर कार्कीले गरेका थिए ।