काठमाडौं । अमेरिकी अधिकारीहरूले चिनियाँ राज्यद्वारा प्रायोजित एक ह्याकरले आफ्नो अर्थ मन्त्रालयको प्रणाली ह्याक गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार उक्त ह्याकरले अर्थ मन्त्रालयका कर्मचारीहरू काम गर्ने प्रणाली र केही गोप्य कागजातहरूमा पहुँच पाउन सफल भएको बताएका हुन्। उक्त घटना डिसेम्बर महिनाको सुरुमा भएको थियो। अर्थ मन्त्रालयले सांसदहरूलाई घटनाबारे जानकारी दिन पत्र लेखेपछि त्यसबारे जानकारी सार्वजनिक भएको हो।अमेरिकी अर्थ मन्त्रालयले उक्त ह्याकिङलाई "ठूलो घटना"को रूपमा चित्रण गरेको छ। त्यसको प्रभावबारे सङ्घीय जाँच ब्यूरो एफबीआई र अन्य निकायहरूले अनुसन्धान गरिरहेको उसले जनाएको छ। वाशिङ्टन डीसीस्थित चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीसँग उक्त आरोपलाई खण्डन गर्दै त्यो अमेरिकाले जानाजान चिनियाँ प्रतिष्ठामा आँच पुर्‍याउन गरेको "कुनै पनि तथ्य र आधार विनाको" सार्वजनिक आरोप बताएका छन्। कसरी भयो ह्याकिङ?अमेरिकी सांसदहरूलाई पठाएको पत्रमा अर्थ मन्त्रालयले चीनस्थित आक्रमणकारीले उक्त मन्त्रालयका कर्मचारीका निम्ति 'रिमोट टेक्निकल सर्भिस' अर्थात् कार्यालयमा उपस्थित नभईकन दिइने प्राविधिक सेवामार्फत् ह्याकिङ गर्न सफल भएको उल्लेख गरिएको छ। उक्त प्राविधिक सेवा तेस्रो पक्षबाट लिइएको थियो र त्यसको साइबर सुरक्षा प्रणालीलाई ह्याकरले छल्न सफल भएको बताइएको छ। मन्त्रालयले 'वियोन्डट्रस्ट' नामक 'रिमोट टेक्निकल सर्भिस' लिइरहेको थियो। त्यसको सुरक्षा प्रणालीलाई ह्याकरले छल्न सफल भएपछि अहिले उक्त सेवा बन्द गरिएको जनाइएको छ। त्यसपछि उक्त ह्याकरले अर्थ मन्त्रालयको प्रणालीमा पहुँच पाएको कुनै पनि जानकारी नभएको पनि पत्रमा खुलाइएको छ। एफबीआईसँगै मन्त्रालयले साइबर तथा पूर्वाधार सुरक्षासम्बन्धी निकायहरू र तेस्रो पक्षका साइबरसम्बन्धी फोरेन्सिक विज्ञहरूसँग मिलेर उक्त आक्रमणको समग्र प्रभावबारे जाँच गरिरहेको बताइएको छ। हालसम्म थाहा भएका प्रमाणका आधारमा चीनस्थित "एडभान्स्ड पर्सिस्टेन्ट थ्रेट" अर्थात् एपीटीले उक्त ह्याकिङ गरेको देखिएको अधिकारीहरूले जनाएका छन्। सांसद्‌हरूलाई लेखेको पत्रमा अर्थ मन्त्रालयका अधिकारीहरूले भनेका छन्, "ट्रेजरी नीतिअनुसार एपीटीको आक्रमणलाई एउटा प्रमुख साइबर सुरक्षासम्बन्धी घटना मानिन्छ।" गत डिसेम्बर ८ मा 'बियोन्डट्रस्ट'ले विभागलाई ह्याकिङबारे जानकारी गराएको एकजना प्रवक्ताले बीबीसीलाई बताए।(बीबीसी)