काठमाडौं, साउन १
प्रदेश नम्बर एकको सरकारले तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता प्रदेशभित्रका खेलाडीहरूलाई सम्मान गरेको छ । प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको थियो ।
उक्त घोषणाअनुरूप बुधबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बीच खेलाडीहरूलाई सम्मान गरेका हुन् । पदक विजेता खेलाडीहरूको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले उपलब्ध खेलाडीहरूलाई सम्मान गरेको हो । सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए । कतिपय खेलाडीहरू विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरूलाई प्रदेश सरकारले पुरस्कारसहित सम्मान गरेको हो । पदकप्राप्त खेलाडीहरूलाई ८० लाख नगद उनीहरूकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरूले प्रदेश सरकारले गरेको सम्मानबाट आफूहरूको खेल क्षेत्रमा हौसला बढेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताए । ‘खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको छ’, मुख्यमन्त्री राईले भने, ‘हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौं ।’ खेलाडीहरूले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको उनको भनाइ थियो । उनले साग प्रतियोगितमा प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरूले देशको साथै प्रदेशको शान बढाएको बताए । प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको बताए ।
खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरू विनियोजन गरिएको भन्दै उनले खेलाडीहरूलाई व्यावसायिक ढंगबाट अगाडि बढ्न समेत आग्रह गरे । ‘तपाईंहरूप्रति सरकारले ठूलो आसा र भरोसा राखेको छ, खेलकुद क्षेत्र अब छायामा पर्दैन’, उनले भने । यसैबीच कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेसाको रूपमा लिनुपर्ने बताए । साग पदक विजेता खेलाडीहरूका कारण प्रदेश सरकार गौरवान्वित भएको भन्दै मन्त्री घिमिरेले खेलकुदलाई जीविकोपार्जनको माध्यमका रूपमा समेत लिनुपर्ने बताए ।