काठमाडौं, साउन १
इजीलिङ्क रेमिट्यान्स प्रालि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । कम्पनीले नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)को प्रयोग गरी रेमिट्यान्स कारोबारहरू सिधै लाभग्राहीहरूको बैंक खातामा जम्मा हुनेगरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रूपमा नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको हो ।
यो व्यवस्थासँगै इजीलिङ्क रेमिट्यान्सका भुक्तानीका कारोबारहरू कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीचएल आईपीएलमार्फत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरू गर्न सकिनेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सको लागि इजीलिङ्कको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ । विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमार्फत हाल उपलब्ध कनेक्ट आईपीएस ई–पेमेन्टको सञ्जालमा क्रमशः ५२ र ६३ सदस्य बैंक तथा वित्तीय संस्थाहरू आबद्ध रहेका छन् ।
एनसीएचएलले एनसीएचएल, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरू सञ्चालन गर्दै आएको छ । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरूमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी/पीएसओ, सरकारी तथा अर्धसरकारी संस्थाहरूलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ । यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्यास–वे मनि ट्रान्सफर, आईपे रेमिट र ललित मनि ट्रान्सफर गरी ७ भन्दा बढी रेमिट्यान्स कम्पनीहरू समावेश छन् भने अन्य ३४ गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । जसमा पीएसपी/पीएसओ, इन्स्योरेन्स कम्पनीहरू, रेमिट्यान्स, मर्केन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरू रहेका छन् ।
इजीलिङ्क रेमिट्यान्स प्रालि सन् १९९९ मा स्थापना भएको अग्रणी रेमिट्यान्स कम्पनी हो । यसले सुरक्षित, छिटो र भरपर्दो माध्यमबाट विदेशबाट नेपालमा रेमिट्यान्स पठाउन योगदान पु-याउँदै आइरहेको छ । यसले उचित शुल्कमा गुणस्तरीय रेमिट्यान्स सेवा पु-याउने उद्देश्यका साथ नेपाल भित्र र बाहिर विभिन्न साझेदारी गर्दै आएको छ ।