दमौली । ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बन्दीपुर भ्रमण वर्ष २०२५ को शुभारम्भ गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुधबार एक कार्यक्रमका बीच भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । कार्यक्रममा उनले स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव हुने बताए । स्थिर सरकार नहुँदा मुलुक विकासमा पछाडि परेको बताउँदै उनले देशको विकास गर्न ठूला दल मिलेर सरकार बनाएको उल्लेख गरे । विकास, समृद्धि र स्थिरताका लागि वर्तमान सरकारले काम गरिरहेको बताउँदै उनले वर्तमान सरकार बनेपछि जनतामा आशा जागेको दाबी गरे । हालको आवश्यकता शिक्षा, स्वास्थ्यमा सबैको पहुँच वृद्धि, रोजगारीका अवसर सिर्जना, उत्पादनमा वृद्धि गर्नु रहेको र सरकार त्यो दिशामा रहेको उनको भनाइ थियो । यस्तै, कार्यक्रममा उनले बन्दीपुर प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकाले यहाँको पर्यटनमार्फत आम्दानी गर्न उनले सुझाव दिए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, पर्यटनविज्ञ हरिसिंह गुरुङले बन्दीपुर भ्रमण वर्षले बन्दीपुरको मात्र नभई समग्र तनहुँको पर्यटन प्रवद्र्धनमा सघाउने बताए । .
बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकोमा त्यसलाई दोब्बर बनाने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । पालिकाभित्रका सबै वडाका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने उनले बताए । पालिकाका छ वटै वडाका पर्यटकीयस्थललाई पर्यटनको केन्द्र बनाउने सोच राखिएको उनले जानकारी दिए । यस्तै, यहाँ प्याराग्लाडिङ, जिपलाइनजस्ता साहसिक खेलको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरे ।
भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी– मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको छ । भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बास बसेर खर्च गर्न सक्ने पर्यटक भित्र्याउने लक्ष्य लिइएको जानकारी दिए । भ्रमण वर्षका अवसरमा एक वर्षमा २४ सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने उनको भनाइ थियो । बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान गरी तिनीहरूको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रियस्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने भ्रमण वर्षको उद्देश्य रहेको जनाइएको छ ।
खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रूपमा सूचीकृत गरेको छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।