काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । इप्पानले पिजे क्लबसँगको सहकार्यमा आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने भएको हो ।
फोटो प्रर्दशनीको लागी इप्पान र पिजे क्लबबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । इप्पान अध्यक्ष गणेश कार्की र पिजे क्लबका अध्यक्ष द्वारिका प्रसाद काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार फोटो प्रदर्शनीको व्यवस्थापन पिजे क्लबले गर्नेछ । इप्पान स्थापनाको २५ वर्ष पुगेको अवसरमा इप्पानमा आबद्ध ऊर्जा उत्पादक कम्पनीहरूले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पिजे क्लबका अध्यक्ष द्वारिका काफ्लेले बताए । यसअनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीहरूले पठाएको फोटोलाई पिजे क्लब र इप्पानका प्रतिनिधिसहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरी प्रदर्शनीमा राखिनेछ । यसमा आउने तस्वीरहरूबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने तस्वीरलाई क्रमश ः३०,२० र १० हजार रूपैयाँ राशिसहित पुरस्कृत गरिनेछ । यस्तै, अर्कोतर्फ पिजे क्लबकै अगुवाइमा इप्पानमा आबद्ध सदस्य कम्पनीहरूले प्रवद्र्धन गरेका आयोजनाहरूको तस्वीर संकलन गरेर प्रदर्शनीमा राखिनेछ । पिजे क्लबले संकलन गरेका तस्वीरहरू प्रदर्शनीमा राखिए पनि प्रतियोगिताका लागि मान्य हुने छैनन् । ती तस्वीरहरू इप्पानको सम्पत्ति मात्रै हुनेछन् ।
सम्झौतापत्र आदान प्रदान समारोहमा इप्पानबाट अध्यक्ष कार्कीसहित कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, पीजे क्लबबाट अध्यक्ष काफ्लेसहित महासचिव अमुल थापा र प्रदर्शनी संयोजक ज्ञानेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो । फोटो प्रतियोगितामा भाग लिनको लागि यहि पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरू पठाइसक्नुपर्नेछ । त्यस्तै, रजत जयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशीको छोटो भिडियो÷वृत्तचित्र प्रतियोगितासमेत आयोजना गरिएकाले सहभागिताको लागि इप्पानले आग्रह गरेको छ । त्यसको लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नुपर्नेछ ।