वासिङ्टन । अमेरिकाको लुइसियाना राज्यको न्यु अर्लिन्स सहरमा एक व्यक्तिले नयाँ वर्ष मनाउने मानिसमाथि पिकअप ट्रक चलाउँदा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
न्यू अर्लिन्समा रातको सवा तीन बजे सहरको सबैभन्दा व्यस्त स्ट्रिटमा हजारौँ मानिसहरुले नयाँ वर्ष मनाइरहेका थिए । त्यहाँ अचानक एउटा गाडी भीडलाई कुल्चाउँदै अगाडि बढ्यो ।
ट्रकले मानिसहरुलाई ठक्कर दिन थालेपछि भागदौड माच्चिएको थियो । त्यसपछि ट्रकबाट एक जना व्यक्ति तल ओर्लिएर मानिसहरुमाथि गोलिचलाएको थियो । जसको जवाफमा प्रहरीले फायरिङ गरेको थियो । सोही क्रममा आक्रमणकारीको मृत्यु भएको छ ।
यो घटनापछि नयाँ वर्ष मनाउने वातावरण शोकमा परिणत भएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ भने घाइतेहरुलाई विभिन्न पाँचवटा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।