काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन् । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले दुई मुलुकबीच भएको कृषि क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे । नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवालाई अवसर सिर्जना गरेको भन्दै उनले यसलाई पुनःनिरन्तरता दिन आग्रह गरे । इजरायलले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिले नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको उनले भनाइ थियो ।
मन्त्री अधिकारीले नेपालको कृषिको विकासका लागि इजरायल सरकारसँग भएको सम्झौताअनुरूप सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि क्षेत्रहरूको छनौट भइसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न समेत राजदूतसमक्ष आग्रह गरेका थिए । करिब पाँच हजार नेपाली हाल इजरायलमा कार्यरत रहेको र यसबाट उनीहरूको जीवनस्तरमा समेत सुधार आएको मन्त्री अधिकारीले बताए । आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग जारी रहने उनले अपेक्षा गरे ।
सो क्रममा राजदूत स्मुलिक एरी बासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताएका थिए । यस्तै, उनले यसै वर्ष नेपालले छनौट गरेका क्षेत्रमा कृषिका लागि सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबन्द्यता समेत जनाए । कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको उनको भनाइ थियो । कृषि क्षेत्रको विकासका लागि विगतमा दुई देशबीच भएका सहमतिको कार्यन्वयनमा आफूले ध्यान दिने पनि उनले प्रतिबद्धता जनाए ।