काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगन्ज महानगरपालिका–१६ घर भएका ३० वर्षीय जय प्रकाश चौरसिया, भक्तपुर सूर्यविनायक नगरपालिका–५ घर भएका २७ वर्षीय आकाश दुलाल, गोरखा गण्डकी गाउँपालिका–२ घर भई चितवन भरतपुर महानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र काठमाडौं नागार्जुन बस्ने ३१ वर्षीय राजन आले रहेका छन् ।
पक्राउमध्ये जय प्रकाशले अजरबैजान पठाइदिन्छु भन्दै एक जना पीडितबाट चार लाख रूपैयाँ, आकाशले युएई पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख ५५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दुवै जनालाई बुधबार पक्राउ गरेको हो । साथै कुल बहादुर र राजनले अमेरिका पठाइदिन्छु भन्दै पीडितहरूबाट ५९ लाख २५ हजार रूपैयाँ ठगी फरार रहेकोमा सोही कार्यालयबाट खटिएको प्रहरीले दुवै जनालाई काठमाडौं सिनामंगलबाट मंगलबार पक्राउ गरेको हो ।
जय प्रकाश र आकाशलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ भने कुल बहादुर राजनलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।