काठमाडौं । ठगी प्रकरणमा मुछिएका अनिल कुमार पोखरेललाई सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्नो स्वकीय सचिवको जिम्मेबारीबाट निकालेका छन्।
शुक्रबार विज्ञप्ति जारी गरी अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सभापति पोखरेलले अनुसन्धानमा सहयोग पुगोस् भनेर अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरिएको उल्लेख गरेका छन्। ३८ लाख ३० हजार रुपैयाँ ठगीमा जोडिएका मोरङको रंगेली नगरपालिका-२ घर भई हाल काठमाडौँ बस्ने अनिल पोखरेललाई पक्राउ गरेर अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेश दिएको हो।
२०७९ सालको निर्वाचनमा एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिल प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका थिए। उनलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम ठगी गरेको आरोप लागेको हो।