बेइजिङ । चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले सन् २०२४ मा सवारीसाधनको बिक्रीमा वृद्धि गरेको छ ।
विद्युत् तथा ब्याट्रीबाट चल्ने कार निर्माता कम्पनी बिवाइडी विदेशमा व्यवसाय विस्तार गर्ने चिनियाँ अटोमोटिभ फर्ममध्ये सबैभन्दा प्रमुख हो । बेइजिङ र पश्चिमबीचको व्यापार विवादबाट बढ्दो खतरामा रहेको चीनले आफ्ना उत्पादनलाई वैकल्पिक बजारमा पु¥याउने नीतिले व्यापारमा वृद्धि भएको कम्पनीले जनाएको छ ।
बिवाइडीले गत वर्ष ४२ लाख ७२ हजार एक सय ४५ वटा गाडी बिक्री गरेको थियो, जुन सन् २०२३ मा बिक्री भएका ३० लाख २४ हजार चार सय १७ गाडीको तुलनामा ४१ दशमलव ३० प्रतिशतले बढी हो ।
डिसेम्बरमा मात्रै बिवाइडीले चीनबाहिर ५७ हजार एक सय ५४ वटा गाडी बिक्री गरेको छ, जुन सन् २०२३ को सोही अवधिको तुलनामा ५८ दशमलव ३ प्रतिशतले बढी हो । ‘बिल्ड योर ड्रिम्स’ भन्ने अङ्ग्रेजी नारालाई अङ्गीकार गर्ने बिवाइडी विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा सबैभन्दा ठूलो इभी उत्पादक कम्पनी हो ।
कम्पनीको त्रैमासिक आम्दानीले गत वर्षको तेस्रो त्रैमासिक अवधिमा पहिलो पटक विश्वव्यापी प्रतिद्वन्द्वी टेस्लालाई उछिनेको थियो । बिवाइडी र चिनियाँ बजारमा यसको उद्योगका समकक्षीहरूको प्रारम्भिक द्रुत बिक्री वृद्धि बेइजिङबाट उदार अनुदानका कारण आंशिकरूपमा लाभान्वित भएका थिए ।
युरोपेली संघ (ईयू)ले चिनियाँ कम्पनीहरूलाई राज्यको व्यापक सहयोगले अनुचित प्रतिस्पर्धा निम्त्याएको बताएको छ । समूहले गरेको अनुसन्धानले बेइजिङको अनुदानले स्थानीय प्रतिस्पर्धीहरूलाई प्रभावित गरिरहेको ठहर गरेको छ ।
ईयूले गत अक्टोबरमा चिनियाँ विद्युतीय सवारीसाधनमा ३५ दशमलव ३ प्रतिशतसम्म थप कर लगाउने घोषणा गरेको थियो । यसअघि सन् २०२४ मा संयुक्त राज्य अमेरिका र क्यानडाले चिनियाँ विद्युतीय सवारीसाधनमा भन्सार शुल्क बढाएर शतप्रतिशत पुर्याएका थिए । उद्योग अनुसन्धान कम्पनी आरएचओ मोसनका अनुसार नोभेम्बरमा विश्वव्यापी ईभी बिक्री १८ लाखमा पुगेपछि बिवाइडीको यो आँकडा आएको हो । रासस-एएफपी