बेलायतले हुवावेको फाइभजी किटमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि चीन रुष्ट भएको छ । चीनले बेलायती निर्णयलाई आधारहीन र वहकाउमा प्रेरित भनेको छ । चीन सरकारले आफ्नो देशको कम्पनीमाथि आधारहीन आरोप लगाएर प्रतिबन्ध लगाइएको बताएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङले आफ्ना कम्पनीको वैधानिक स्वार्थमा आवश्यक कदम चाल्ने बताएकी हुन् । तर बेलायती निर्णयपछि अमेरिका भने खुसी देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णयको स्वागत गर्दै भनेका छन्, ‘हामीले धेरै देशलाई बुझाउनसक्यौँ, यो असुरक्षित रहेकोले मेरो पहलमा उनीहरु सहमत हुनसके ।’
पछिल्लो समय कोरोनाले अमेरिका अत्यन्त प्रभावित भएपछि चीनमाथि ट्रम्प खुल्ला रुपमै खनिँदै आएका छन् । उनले चीनमाथि एकपछि अर्को दबाब सिर्जना गरिरहेका छन् । भर्खरै उनले हङकङलाई दिएको विशेष सुविधा पनि खोसेका छन् । नयाँ सुरक्षा कानुन हङकङमा लागू भएसँगै अमेरिकाले उक्त सुविधा खोसेको हो । ट्रम्पले कार्यकारी आदेश जारी गर्दै त्यस्तो सुविधा हटाएका छन् ।
अमेरिकाले आरोप लगाउँदै आए पनि हुवावेले भने आरोप सत्य नभएको र कुनै पनि देशलाई आफ्नो प्रविधिले हानि नगर्ने भन्दै आश्वस्त पार्ने प्रयास गरिरहेको छ । बेलायतले देशका मोबाइल नेटवर्क सन् २०२७ सम्ममा हुवावेका फाइभजी किटबाट मुक्त भइसक्नुपर्ने बताएको छ । त्यस्तै ३१ डिसेम्बरदेखि नयाँ किट किन्नबाट पनि रोक लगाइएको छ । बेलायतका लागि चिनियाँ राजदूत लिउ सियामिङले बेलायती निर्णयलाई दुःखद भनेका छन् । उनले नरम भाषा प्रयोग गरे पनि बेइजिङले भने कडा प्रतिक्रिया दिएको छ ।