काठमाडौं । बाढीले क्षति पुर्याएको भए पनि यस वर्ष धान उत्पादन बढेको अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १२ र १३ गते वर्षापछि आएको बाढीपहिरोको कारण क्षति पुगे पनि यस वर्ष धान उत्पादन बढेको प्रारम्भिक अनुमान गरेको छ ।
मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष चार दशमलव शून्य चार प्रतिशत धान उत्पादन बढ्नेछ । यस वर्ष धानबालीको कुल उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान गरेको छ । यो उत्पादन वर्षे र चैते धान गरी हो । चालू आर्थिक वर्षमा वर्षे धान उत्पादन तीन दशमलव ९९ प्रतिशत बढ्ने अनुमान गरिएको छ । सो समयमा १३ लाख ११ हजार तीन सय २८ हेक्टर क्षेत्रफलमा लगाइएको वर्षे धानको उत्पादन ५४ लाख ११ हजार ८३ मेट्रिक टन हुने अनुमान छ ।
गत वर्षभन्दा यस वर्ष धान उत्पादन भएको क्षेत्र एक दशमलव २८ प्रतिशतले घटेको भए पनि उत्पादकत्व चार दशमलव १९ प्रतिशतले बढेको छ । गत वर्ष १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपिएकोेमा यस वर्ष १४ लाख २० हजार छ सय ३६ हेक्टर क्षेत्रफलमा लगाइएको छ । गत वर्ष धानको उत्पादकत्व पाँच दशमलव ३८ मेट्रिक टन प्रतिहेक्टर थियो भने यसवर्ष औसत उत्पादकत्व चार दशमलव १९ मेट्रिक टन प्रतिहेक्टर भएको अनुमान सरकारको छ ।
मन्त्रालयले यस वर्षमा चैते धान उत्पादन चार दशमलव ५२ प्रतिशतले बढ्ने अनुमान गरेको छ । सो समयमा एक लाख नौ हजार तीन सय नौ हेक्टर क्षेत्रफलमा लगाइएको चैते धानको उत्पादन पाँच लाख ४४ हजार तीन सय ९३ मेट्रिक टन हुने बताइएको छ । जुन गत आर्थिक वर्षको भन्दा धान लगाइएको क्षेत्रफल चार दशमलव ३९ प्रतिशत बढी हो भने उत्पादकत्व शून्य दशमलव १३ प्रतिशत बढी हो । गत वर्ष चैते धान एक लाख चार हजार सात सय १२ हेक्टर क्षेत्रफलमा रोपिएको थियो भने धानको उत्पादन पाँच लाख २० हजार आठ सय आठ मेट्रिक टन थियो । यस वर्षमा वर्षे र चैते गरी १४ लाख २० हजार छ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइको अनुमान गरिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा भने एक दशमलव २८ प्रतिशतले कम हो । औसत उत्पादकत्व चार दशमलव १९ मेट्रिक टन प्रतिहेक्टरमा पुगि हालसम्मको उच्च विन्दु कायम हुने पुगेको मन्त्रालयकी प्रवक्ता डा. मतिना जोशी वैधले जानकारी दिइन् । उनले यस आर्थिक वर्षभरमा चैते धान र वर्षे धानको उत्पादन तथा उत्पादकत्व गत वर्षको भन्दा वृद्धि हुने बताइन् ।
प्रदेशगत रुपमा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कुल धान उत्पादनमा वृद्धि भएको छ भने बाग्मती, गण्डकी र कर्णाली प्रदेशहरूमा धान उत्पादन घट्ने अनुमान छ । रुकुम (पश्चिम)मा धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कमी रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको छ । यसैगरी नवलपरासी (पूर्व)का केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखा परेकोले उत्पादनमा कमी आएको छ भने र लमजुङ जिल्लामा धानबाली लगाइएको क्षेत्रफल लगाइएको क्षेत्रफलमा कमी आएकाले उत्पादनमा असर परेको छ । गत आर्थिक वर्षको तुलनमा चालू आर्थिक वर्षमा कोशी, मधेश, लम्बिनी र सुदूरपश्चिममा उत्पादन क्रमशः दुई दशमलव १६ प्रतिशत, मधेशमा १० दशमलव ७० प्रतिशत, चार दशमलव शून्य छ प्रतिशत र छ दशमलव १९ प्रतिशतले बढेको अनुमान छ । यस्तै, कोशीमा शून्य दशमलव ६६ प्रतिशत, मधेशमा १३ दशमलव ३८ प्रतिशत, लम्बिनीमा चार दशलव ९७ प्रतिशत र सुदूरपश्चिममा सात दशमलव ३१ प्रतिशत उत्पादकत्व रहने अनुमान छ ।
कोशीमा १४ लाख ६६ हजार पाँच सय १८ मेट्रिक टन, मधेशमा १४ लाख ८० हजार आठ सय ३० मेट्रिक टन, लुम्बिनीमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन धान उत्पादन हुनेछ । साथै सोही वर्ष बाग्मतीमा चार लाख ९८ हजार छ सय ६२ मेट्रिक टन, गण्डकीमा तीन लाख ७९ हजार ३२ मेट्रिक टन र कर्णालीमा एक लाख ३० हजार एक सय ९१ मेट्रिक टन धान उत्पादन हुनेछ । गत आर्थिक वर्षमा कोशीमा १४ लाख ३५ हजार पाँच सय ७८, मधेशमा १३ लाख ३७ हजार छ सय ७२ मेट्रिक टन, लुम्बिनीमा १३ लाख १० हजार आठ सय २९ मेट्रिक टन र सुदूरपश्चिममा पाँच लाख ९९ हजार एक सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो । साथै बाग्मतीमा पाँच लाख चार हजार तीन सय ४४ मेट्रिक टन, गण्डकीमा तीन लाख ९१ हजार छ सय २४ मेट्रिक टन र कर्णालीमा एक लाख ४५ हजार ६३ मेट्रिक टन धान उत्पादन भएको थियो ।
चालू आर्थिक वर्षमा ‘स्याटलाइट तस्बिर र रिमोट सेन्सीङको प्रयोगवाट प्राप्त नतिजालाई समेत ध्यानमा राख्दा धान लगाइएको क्षेत्रफलमा र धान भित्र्याइएको क्षेत्रफलमा परिवर्तन हुन पुगेको छ । यो नतिजाको असर मधेश प्रदेशमा उल्लेख्य देखिन आई मधेश प्रदेशमा धान भित्र्याइएको क्षेत्रफलमा कमी आएको छ । पछिल्ला वर्षमा जस्तै यस वर्ष पनि चैते धानको उत्पादकत्व वर्षे धानको भन्दा उच्च कायम रहन गएको छ ।
यो वर्ष तराईका २१ जिल्लाहरूमा वर्षे धान लगाइएको थियो भने असोजमा अविरल वर्षा र वर्षापछि आएको बाढी पहिरोले धानबालीमा नोक्सानी पराएको थियो । यसका अलवा सरकारले उपलब्ध गराएको रासायनिक मल, रोग तथा किराको प्रकोपविरुद्धको रोकथाम, उन्नत बीउको आयातलगायतका कारणले धान उत्पादन बढेको बताइएको छ । मन्त्रालयका अनुसार यस वर्ष मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय हुनपुगेको र सो अवधिमा औसत वर्षा अर्थात् गत आर्थिक वर्षको सरदरभन्दा उच्च वर्षा रहन जाँदा वर्षे धान बालीको लागि उत्पादन वृद्धिमा सहयोग पुग्न गएको हो । साथै प्रवक्ता वैधले यो वर्ष समयमा रासायनिक मल र उन्नत जातको धान बीउ आयात वृद्धि हुँदा पनि धान उत्पादन बढ्ने पुगेको जानकारी दिइन् ।