काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको शुक्रबार राति निधन भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ जिलिङ घर भई हाल काठमाडौंमा नेपालभ्युज नामक अनलाइनमा कार्यरत ३३ वर्षीय पुडासैनीको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
शुक्रबार साँझ काम सकेर कार्यालयकै एक सहकर्मीको घरमा गई खाना खाएर चाबहिलको सरस्वती नगरस्थित आफ्नै डेरामा पुगेर कपडा खोल्दै गर्दा उनलाई हृदयघात भएको आशंका गरिएको छ ।
कोठामा पुगेर कपडा खोल्न लाग्दा आफूलाई अप्ठ्यारो भएपछि उनले छिमेकी कोठामा बस्नेलाई ट्क्याक्सी बोलाएर अस्पताल लैजान भनेका थिए । तर, उनी एक्कासी ढलेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि डेरामा पुगेको कपन प्रहरीले आफ्नै गाडीमा राखेर अचेत अवस्थामा रहेका पुडासैनीलाई चावहिलको हेल्पिङह्याण्ड अस्पताल पु¥याएको थियो । त्यहाँ पुडासैनीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
नुवाकोटबाट पत्रकारिता सुरु गरेका पुडासैनीले पत्रकारिताको करिब १३ वर्षको अवधिमा नुवाकोट र काठमाडौंमा गरी करिब एक दर्जन सञ्चार माध्यममा काम गरिसकेका छन् । उनी केही समय अगाडिदेखि नेपालभ्युज नामक अनलाइनमा उपसम्पादकका रुपमा कार्यरत थिए । अविवाहित पत्रकार पुडासैनीको बुबाको यसअघि नै निधन भइसकेको छ भने घरमा वृद्ध आमा र तीन दाइहरु छन् । उनको त्रिवि शिक्षण अपस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरेर शनिबार नै नुवाकोटस्थित देविघाटमा हिन्दु परम्पराअनुसार अन्येष्टि गरिएको जेठो दाइ लोकबहादुर पुडासैनीले जानकारी दिए । पोस्टमार्टमपछि त्रिवि शिक्षण अस्पतालमै उनको शव श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
प्रेस चौतारी नेपालको एसोसिएट उपाध्यक्ष समेत रहेका स्वर्गीय पत्रकार पुडासैनीलाई नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, नेकपा एमालेका केन्द्रीय सदस्य केशवराज पाण्डे, नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली तथा पत्रकारहरुले श्रद्धाञ्जलि दिएका थिए ।