काठमाडौं, साउन १
नेपाल र बंगलादेशमा पछिल्लो समय चर्चा बटुलिरहेको राइड सेयरिङ प्रविधि कम्पनी पठाओका सहसंस्थापक फाहिम सलेहको अमेरिकामा विभत्स हत्या भएको छ । अन्तर्राष्ट्रिय राइड सेयरिङ कम्पनीका प्रविधि उद्यमी सलेहको शव विभत्स अवस्थामा सोमबार दिउँसो न्युयोर्कमा रहेको एक घरको फ्ल्याटमा फेला परेको अमेरिकी मिडियाहरुले जनाएका छन् ।
उनी नाइजेरिया, बंगलादेशमा जनप्रिय स्टार्टअर्प स्थापनाका लागि प्रसिद्ध उद्यमी थिए । उनले गुकाडा नामको अर्को फर्म पनि सहसंस्थापना गरेका थिए । पठाओ बंगलादेशले उनको मृत्यु पुष्टि गरेको छ । उनी सन् १९८६ मा जन्मिएका थिए । कम्पनीले ट्विटरमार्फत फाहिम सलेहको मृत्युबाट मर्माहत भएको बताएको छ । अमेरिकी मिडियाहरुले सलेह बस्ने घरमा प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको र लिफ्टमा उनीसँगै एक जना नकाबधारी व्यक्ति पनि दृश्यमा कैद भएको जनाएका छन् । उनको शव छिन्नभिन्न अवस्थामा भेटिनुका साथै नजिकै विद्युतीय हतियार समेत भेटिएको छ । न्युयोर्क पोष्ट अनलाइनका अनुसार शवको प्रकृति हेर्दा पेशेवर हत्यारा संलग्न भएको देखिएको छ ।
सलेह ३३ वर्षका थिए । उनले सन् २०१५ मा नेपाल र बंगलादेशमा पठाओ सहसंस्थापना गरेका थिए । हालसालै उनले नाइजेरियामा गोकाडा नामको मोटरबाइक ट्याक्सी एप बनाएका थिए । तर कम्पनीले सरकारी अधिकारीबाट कानुनी झन्झठ व्यहोर्नुपरेको थियो । गोकाडा र पठाओ दुवै कम्पनीले उनको निधनमा दुःख व्यक्त गरेका छन् ।