काठमाडौं । बैंकिङ प्रणालीमा पैसा थुप्रिँदै गएपछि राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरूसँग ५० अर्ब रुपैयाँ निक्षेप मागेको थियो । बैंकहरूले औसत ब्याजदर दुई दशमलव ९९ प्रतिशतमा ४३ अर्ब ८५ करोड रुपैयाँ दिए । राष्ट्र बैंकले प्रणालीबाट पैसा ताने पनि अधिक तरलताको अवस्था कायमै छ ।
राष्ट्र बैंकले पुस लागेपछि मात्रै छ पटक निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । चालू आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म राष्ट्र बैंकले ३७ पटक निक्षेप उपकरण जारी गरेको छ । जसबाट १३ खर्ब ८३ अर्ब १० करोड रुपैयाँ निक्षेप तानेको छ ।
बैंकहरूले कर्जा जान छाडेपछि स्थायी निक्षेप सुविधा (एसडीएफ)को उपयोग पनि गर्दै आएका छन् । आइतबार मात्रै बैंकहरूले एसडीएफमार्फत एक खर्ब २२ अर्ब ५५ करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । बैंकहरूले साउन १ गतेदेखि पुस २१ गतेसम्म ६९ पटक स्थायी निक्षेप सुविधा उपयोग गर्दै एक सय २३ खर्ब ३० अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । एसडीएफमा पैसा राख्दा बैंकहरूले तीन प्रतिशत ब्याज पाउने गरेका छन् । केन्द्रीय बैैंकले आइतबार, मंगलबार र बिहीबार गरी सातामा तीन दिन मात्रै स्थायी निक्षेप सुविधा प्रदान गर्दै आएको छ ।
बैैंकहरूबीच हुने अन्तरबैंक कारोबारको ब्याजदर तीन प्रतिशतभन्दा तल झर्न नदिन निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिचिरहेको छ । तर पनि प्रणालीमा अधिक तरलता उच्च छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ६६ खर्ब ७५ अर्ब रुपैयाँ पैसा छ । यसमध्ये ५३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेर कर्जा लगानी गर्न पाउँछन् । तर, अहिले बैंकहरूले ७९ दशमलव शून्य छ प्रतिशत मात्रै लगानी गर्न सकेका छन् । यस आधारमा प्रणालीमा अझै छ खर्ब ४४ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेअनुसार कर्जाको माग हुन नसक्दा तरलता थुप्रिँदै गएको देखिन्छ । रेमिट्यान्स आप्रवाह बढ्दै गएको र आयात गत वर्षभन्दा कम भएकाले प्रणालीमा निक्षेपको आँकडा बढिरहेको छ ।
कर्जाकोे न्यून माग र पुँजीकोष दबाबका कारण कर्जा लगानी गर्ने अवस्था नरहेको बैंकहरू बताउँछन् । अर्थतन्त्र मन्दीमा रहेको भन्दै उद्यमीहरूले नयाँ कर्जा मागेका छैनन् । बजारमा उपभोग घटेकाले उत्पादन बढाउन नसकेपछि कर्जाको माग नभएको देखिन्छ । सञ्चालानमा रहेका उद्योगहरू पनि पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । यसको असर बैंकहरूको कर्जा विस्तारमा परेको हो ।
अर्कोतर्फ खराब कर्जाको आँकडा बढ्दै गएपछि बैंकहरूको ध्यान कर्जा विस्तारमा भन्दा असुलीमा बढी गएको देखिन्छ । विगतका वर्षमा आकाशिएको ब्याजदरले गर्दा त्यसबेला कर्जा लिएका ऋणीहरू अहिले पनि समस्यामा छन् । अहिले ब्याजदर सस्तिएर न्यून विन्दुमा झरे पनि पुरानो समस्याका कारण बैंकहरूको निष्क्रिय कर्जाको आँकडा बढ्दै गएको छ । यसले पनि बैंकहरूको कर्जा विस्तार न्यून छ भने तरलता तरलता बढ्दै गएको छ ।
अहिले कर्जाको औसत ब्याजदर एकल विन्दुमा छ । कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार बैंकहरूको कर्जाको औसत ब्याजदर नौ दशमलव शून्य सात प्रतिशतमा झरेको छ । ब्याजदर घट्दै गए पनि कर्जाको माग बढ्न सकेको छैन । बैैंकहरूको आधार दर घटेर औसत सात दशमलव शून्य तीन प्रतिशत झरेको छ ।