काठमाडौं । अध्यागमन विभागद्वारा केही दिनअघि (३१ डिसेम्बर बिहान) सार्वजनिक गरिएको तथ्याङ्कमा सन् २०२४ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ हजार २५ जना पुगेको भनी जनाइएको थियो भनेदेखि जनवरी १, २०२५ मा नेपाल पर्यटन बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२४ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ हजार पाँच सय ६७ जना (केही बढी संख्या थपिएको) पुगेको छ । त्यसो त सन् २०२४ को ११ महिना बित्दा १० लाख ५५ हजार पाँच सय ३३ जना विदेशी पर्यटक मात्रै नेपाल भ्रमणमा गर्न आएका हुनाले नेपाल सरकारको दाबी वा भनौँ प्रक्षेपणअनुसार सन् २०२४ मा १३ लाख १५ हजार वा सोभन्दा केही बढी विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा नहुने पक्का भइसकेको थियो । जे होस्, सन् २०२४ को अन्तिम महिना अथवा भनौँ डिसेम्बर महिनामा ९२ हजार ३४ हजार जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसको अघिल्लो महिना अर्थात् सन् २०२४ को नोभेम्बर महिनामा चाहिँ एक लाख १४ हजार पाँच सय एक जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । जे होस्, यो लेखमा चाहिँ समग्रमा सन् २०२४ को १२ महिनामा मासिकरूपमा कति विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए ? सो सम्बन्धमा पनि थोरै उल्लेख गरिने छ । सन् २०२४ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको मासिक तथ्याङ्क उल्लेख गरिएको छ ।
१, जनवरी महिनामा ७९ हजार एक सय जना । २, फेब्रुअरी महिनामा ९४ हजार चार सय २६ जना । ३, मार्चमा एक लाख २८ हजार एक सय ६७ जना । ४, अप्रिल महिनामा एक लाख ११ हजार तीन सय ७६ जना । ५, मे महिनामा ९० हजार दुई सय ११ जना । ६, जुन महिनामा ७६ हजार सात सय ३६ जना । ७, जुलाई महिनामा ६४ हजार पाँच सय ९९ जना । ८, अगस्ट महिनामा ७२ हजार सात सय १९ जना । ९, सेप्टेम्बर महिनामा ९६ हजार तीन सय पाँच जना । १०, अक्टोबर महिनामा एक लाख २४ हजार तीन सय ९३ जना । ११, नोभेम्बर महिनामा एक लाख १४ हजार पाँच सय एक जना । १२, डिसेम्बर महिनामा ९२ हजार ३४ हजार जना । यसरी तथ्याङ्क हेर्दा सन् २०२४ डिसेम्बर महिनाको बिहानसम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ पुगेको थियो भने सन् २०२४ डिसेम्बर ३१ को बेलुकी अबेरसम्म केही सय भए पनि संख्या बढेर नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ हजार पाँच सय ६७ जना पुगेको छ । नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या (तथ्याङ्क) हेर्ने हो भने यो भनेको सन् २०१९ पछिको तेस्रो सबैभन्दा धेरै विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएको हो भन्ने बुझ्नुपर्ने हुन्छ, हामीले । किनभने हालसम्म नेपालमा विदेशी पर्यटकहरू धेरै आएको भनेको सन् २०१९ मा हो । स्मरण रहोस्, सो वर्ष ११ लाख ९७ हजार ९१ (लगभग १२ लाख) जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१८ मा चाहिँ ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए । यो हामी नेपालीहरूका लागि धेरै खुसी र उत्साह जनक कुरो हो ।
हुन त नेपाली पर्यटनको सन्दर्भमा कुरो गर्नु पर्दाखेरी विसं २००७ साल (सन् १९४९–१९५०) मा राणा शासनविरुद्ध आन्दोलन भएर राजनीतिक परिवर्तन भएपछि मात्रै नेपालमा नयाँ खालको राजनीतिक व्यवस्था सुरु भयो । त्यसरी आएको राजनीतिक परिवर्तनपछि बनेको तत्कालीन नेपाल सरकार (पछि श्री ५ को सरकार भन्न थालियो) ले चाहिँ नेपालकै मधेसी मुलका नागरिकहरू र विश्वका जुनसुकै देशका विदेशी नागरिकलाई पनि नेपाल आऊजाऊ गर्नका लागि खुला गर्यो । त्यसरी हेर्दा विश्वका अन्य देश हेरिकन हाम्रो देशमा धेरै ढिला मात्रै विदेशी पर्यटकलाई कानुनीरूपमा प्रवेश गर्न दिइएको हो । किनभने विसं २००७–००८ साल (सन् १९४९– ०५०) तत्कालीन श्री ३ महाराजहरूले आफू अनुकूल रहेका अथवा आफूले चाहेका केही देशका कूटनीतिज्ञहरू र केही देशका राजा–महाराजाहरूलाई मात्रै नेपाल प्रवेश गर्न दिन्थे । खासगरी राजा महाराजाहरूको कुरो गर्दाखेरि ऊबेला ‘कहिल्यै सूर्यास्त नहुने देशले !’ भनी चिनिएको बेलायत अधिराज्यका राजा–महाराजाहरूलाई मात्रै नेपाल प्रवेश गर्न दिन्थे । त्यसरी हेर्दाखेरि सूचना, सञ्चार र प्रविधिले असाध्यै फड्को मारेको वर्तमान समयमा जुन देशको सरकार र पर्यटन व्यवसायीले आफ्नो देशका पर्यटकीय गतिविधिबारे छिटो र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन् । ती देशले बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सक्छन् भन्ने देखिन्छ । जुनसुकै देशको सरकार र पर्यटन व्यवसायीले पनि आफ्नो देशका पर्यटकीय गतिविधिबारे छिटो र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशमा विदेशी पर्यटकहरूको आगमनमा विविधता पनि आउन सक्ने देखिन्छ । के भनिन्छ भनेदेखि आजभोलि सूचना, सञ्चार र प्रविधि विकासले गर्दा विश्व नै एक गाउँ (ग्लोबल भिलेज) भइसकेको छ । त्यसैले अब हामी नेपालीले पनि पछिल्लो पटक विकसित भएको सूचना, सञ्चार र प्रविधिको विकासलाई सही सदुपयोग गरेर धेरैभन्दा धेरै देशका पर्यटकहरूलाई धेरैभन्दा धेरै संख्यामा नेपाल भ्रमण गराउनका लागि लागि पर्नुपर्ने देखिन्छ । यसका लागि नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड (एनटीबी) र निजी क्षेत्रका पर्यटन व्यवसायीहरूजस्तै होटल एसोसिएन अफ नेपाल (हान), नेपाल ट्राभल एन्ड टुर एसोसिएसन (नाट्टा), नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए), हिमालयन रेस्क्यु एजेन्सी (एचआरए), एयरलाईन अपरेटर्स एसोसिएसन अफ नेपाल (एओन), ट्रेकिङ एजेन्ट एजेन्सी अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट (नारा), रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)लगायत निजी क्षेत्रका पर्यटन व्यवसायसँग आबद्ध संघ–संस्थाहरूले पहल गर्नुपर्ने देखिन्छ ।