काठमाडौँ । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक रोशी गाउँपालिका(११ का ३३ वर्षीय दुधराज थिङ, सर्लाही गोडैता नगरपालिका(१० का २८ वर्षीय राकेशकुमार रावत र दाङ तुल्सीपुर उपमहानगरपालिका(५ का ३४ वर्षीया प्रभा श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शुक्रबार राकेशलाई काठमाडौँ महानगरपालिका-९ बाट, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका-९ बाट र आइतबार प्रभालाई ललितपुर महानगरपालिका-१० बाट पक्राउ गरिएको जनाएको छ ।
पीडितहरूको उजुरीको आधारमा पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट छ लाख ४५ हजार, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख ५० हजार र प्रभाले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख आठ हजार लिई सम्पर्कबिहीन भएका थिए । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ ।