काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव ३२ अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार ४९ दशमलव १२ अंकले उकालो लागेर २६ सय ४० दशमलव ६८ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६९ अंकले बढेर चार सय ४९ दशमलव ५९ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ७५ हजार पाँच सय ४० पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ५४ रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएको छ । जसमध्ये बाणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो देखिएको छ ।