काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जा अर्थात् ‘नन पर्फमिङ लोन’ (एनपीएल)को ग्राफ दिनदिनै बढिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जाको अनुपात पाँच प्रतिशतभन्दा बढी हुनु हुँदैन ।
निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा बढी भएको खण्डमा तोकिएको सीमासम्म नआउँदासम्म राष्ट्र बैंकले निक्षेप तथा कर्जा प्रवाहमा निश्चित सीमा तोकिदिने, कर्मचारीहरूको सरुवा, बढुवा र सेवासुविधा वृद्धिमा तत्कालका लागि रोक लगाउने, नयाँ शाखा विस्तारमा रोक लगाउनेलगायतका कारबाही गर्छ ।
निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था भए पनि केही वित्तीय संस्थाको ३४ प्रतिशतसम्म पुगेको छ । जुन राष्ट्र बैंकले तोकेको न्यूनतम खराब कर्जासम्बन्धी व्यवस्थाभन्दा निकै बढी हो । अहिले खराब कर्जा निकै बढी भएका पाँचवटा संस्थाहरू नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको लागि टाउको दुखाइ बनेको छ । जानकी फाइनान्स, समृद्धि फाइनान्स, गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, नेपाल फाइनान्स र सिन्धु विकास बैंकको निष्क्रिय कर्जा उच्च छ । खराब कर्जा उच्च भएको कर्णाली विकास बैंकको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिइसकेको छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्दा जानकी फाइनान्सको निष्क्रिय कर्जा (खराब कर्जा) सबैभन्दा बढी छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ दशमलव ६० प्रतिशत निष्क्रिय कर्जा रहेको जानकीको यस वर्या पहिलो त्रैमासमा ३४ दशमलव ६४ प्रतिशत पुगेको छ ।
समृद्धि फाइनान्सको गत आर्थिक वर्षको पहिलो त्रैमासमा चार दशमलव ७९ प्रतिशत निष्क्रिय कर्जा थियो । तर, अहिले बढेर २३ दशमलव ४७ प्रतिशत पुगेको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको गत आर्थिक वर्षको पहिलो त्रैमासमा चार दशमलव ७२ प्रतिशत निष्क्रिय कर्जा थियो । तर, यस आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर १३ दशमलव ५६ प्रतिशत पुगेको छ । यसैगरी नेपाल फाइनान्सको निष्क्रिय कर्जा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० दशमलव ३६ प्रतिशत छ । गत वर्ष सोही ११ दशमलव ७५ प्रतिशत थियो ।
निष्क्रिय उच्च हुने यी चारवटा फाइनान्स कम्पनीहरूमध्ये जानकी फाइनान्सले मात्र चालू आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ९० लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको देखिएको छ । समृद्धि, गुहेश्वरी र नेपाल फाइनान्सले क्रमशः एक करोड ८२ लाख पाँच हजार, ११ करोड ३३ लाख ६८ हजार र दुई करोड ४० लाख एक हजार तीन सय ७० रुपैयाँ खुद नोक्सानी बेहोरेका छन् ।
क्षेत्रीयस्तरको सिन्धु विकास बैंकको निष्क्रिय कर्जा गत आर्थिक वर्षको पहिलो त्रैमासमा चार दशमलव २६ प्रतिशत थियो । गत वर्ष पहिलो त्रैमासमा बैंकले खुद नाफा १० लाख २९ हजार रुपैयाँ कमाएको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सिन्धु विकास बैंकको निष्क्रिय कर्जा बढेर ११ दशमलव २९ प्रतिशत पुगेको छ । यस अवधिमा सिन्धुले दुई करोड ३० लाख ५८ हजार सात सय १० रुपैयाँ खुद नाफा कमाएको छ ।