काठमाडौं । कुमारी बैंकले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको आतिथ्यमा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकका अनुसार युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवद्र्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारीले हात्तिगौँडा शाखामार्फत बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४ को समन्वयमा बुढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । बैंकका अनुसार कार्यक्रममा दुई सय भन्दा बढी महिला तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो । प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र बुढानीलकण्ठ नगरपालिका वडा नंं ४ का अध्यक्ष राम केसीको उपस्थितिमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नंं ४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको लागि एकदिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिकरूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उद्देश्य लिएको वडा नं ४ का अध्यक्ष राम केसीले बताए ।
वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरूपमा उद्यमशीलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देशहरू विकास गरि नियमितरूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १५ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग इकाइमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि बैंकले अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।